सोमबार, ०८ पुस २०८१

कैदीबन्दीकाे रेख देखमा खटिएका यादव बन्दीलाई बलात्कार अभियाेगमा जेल चलान


सप्तरी, ७ पुस ।  कैदीबन्दीको रेखदेखमा खटिएका एक कर्मचारी महिला कैदीको बलात्कार गरेको आरोपमा आफै जेल चलान भएका छन् ।

राजविराज कारागारमा कार्यालय सहयोगी पदमा कार्यरत राजविराज नगरपालिका ८ का ३५ वर्षिय चन्दन भनिने चन्द्रनारायण यादव पूर्पक्षका लागि शुक्रबार कारागार चलान भएका हुन् । उनीमाथी सोही कारागारमा बन्दी जिवन बिताइरहेकी ३० वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले यादवलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको हो । महिला कैदीबन्दीलाई कारागार कार्यालयको प्रशासनिक भवनस्थित बिजुलीघरभित्र लगी ५ माघ २०८० मा यादवले बलात्कार गरेको पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

कारागार चलान भएका यादव विगत १७ वर्षदेखी राजविराज कारागारमा कार्यालय सहयोगि पदमा कार्यरत रहेका थिए । पीडित भनिएकी महिलालाई हाल कारागार सरुवा भई उदयपुर कारागारमा बन्दी जिवन बिताइरहेकी छिन् ।

पीडित महिला २०७६ साउनदेखी राजविराज कारागारमा कर्तव्य ज्यान तथा आत्महत्या दुरुत्साहन मुद्दामा कैद सजाय भुक्तान गर्दै आएकी थिइन् । सोही समयमा आफूसँग कार्यालय सहयोगि यादवले बलात्कार गरेको उनले दिएको उजुरीमा उल्लेख छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ