- भदौ ०२, २०८१
२०४६ को जन–आन्दोलनको समय थियो । म वाग्मती अंचल प्रहरी कार्यालय अन्तर्गत राजनैतक अनुसन्धान शाखाको प्रमुख थिएँ । अञ्चल प्रहरी प्रमुख शंभु थापा सर हुनु हुन्थ्यो ।
आन्दोलन विस्तार विस्तार हुँदै थियो । चर्किसकेको भने थिएन । दमननाथ ढुंगानालाई पक्राउ गर्नु पर्ने माथिबाट आदेश थियो । मेरै शाखामा कार्यरत गोपाल पुडासैनी र भरत थपलिया मार्फत जानकारी आयो, ‘जमल स्थित श्रीहलमा नेपाली कांग्रेसको मिटिङ चलिरहेको छ, किशुनजी, गिरिजावावु लगायत दमननाथ ढुंगाना पनि त्यही हुनु हुन्छ ।’ शीर्ष नेताहरु समेत भएकोले मिटिङमा हस्तक्षेप नगर्ने, मिटिङ सकेर निस्किने वित्तिकै दमननाथ ढुंगानालाई समाउने भनि प्रहरी भ्यान अलि पर राखेर सिभिल ड्रेसमा हामी ३÷४ जना श्रीहल वाहिर ढुकेर बसि रहयौँ ।
मिटिङ सकिएर दमननाथ ढुंगाना, किशुनजी र गिरिजा बाबु संगै रानीपोखरी तिर लाग्नु भयो । किशुनजी र गिरिजा वावुको साथ छुटेपछि समात्ने योजना थियो । तर, त्यो योजना संभव हुने नदेखेपछि हामीले दमननाथ ढुगानाको पाखुरामा समातेर भ्यानमा हाल्ने कोशिश गर्यौ, उहॉ मान्नु भएन र संगै हिँडिरहनु भएका गिरिजा वावुलाई भन्नु भयो, ‘उहाँहरु प्रहरी रे, मलाई विना पूर्जी पक्राउ गर्दै हुनु हुन्छ ।’ गिरिजा बाबुले सोध्नु भयो, ‘तपाईहरु संग उहॉलाई पक्राउ गर्ने पूर्जी छ ? पूर्जी छ भने देखाउनुस र लिएर जानुस । बिना पुर्जी लिएर जान पाउनु हुन्न ।’
त्यो समयमा पूर्जी जारी गरेर प्रतिबन्धित दलका नेताहरुलाई पक्रने चलन थिएन, तत्कालीन सरकारले उहॉहरुलाई अराष्ट्रिय तत्व नामाकरण गरेको थियो ।
गीरिजा बाबुको कुरा सुनेपछि किशुनजीसंग सहयोग माग्यौ, ‘किशुनजी हामीसंग पक्राउ पूर्जी छैन, तर जसरी भएपनि दमननाथजी लाई पक्राउ गर्नु पर्ने माथिको आदेश छ ।’ किशुनजीले भन्नु भयो, “पूर्जी छैन भने, बल प्रयोग गरेर लिएर जानुस ।’ हामीले भन्यौ, ‘कसरी बल प्रयोग गर्ने ? हामी जम्मा ३÷४ जना छौ, तपाईहरु यति धेरै हुनु हुन्छ, अरु मानिसहरु पनि छन ।’ किशुन जीले भन्नु भयो, ‘बल प्रयोग भनेको धेरै प्रहरी ल्याएर समात्नुस भनेको होईन, पाखुरामा समातेर तान्नुस्न ।’ त्यसपछि हामीले फेरी दमनजीलाई पाखुरामा समातेर भ्यानमा राख्न खोज्यौ, उहाँ भने अझै मानि रहनु भएको थिएन । किशुनजीले ‘उहॉहरुले बल प्रयोग गर्नु भयो, गइ दिनुस, हामी प्रजातन्त्रवादी गिरफ्तारी संग डराउनु हुँदैन ।” भनेपछि दमनजी पनि चुपचाप भ्यान भित्र पस्नु भयो । किशुनजीको त्यो ब्यवहार देखेर मनमनै उहाँसंग नतमस्तक भयौं ।
त्यही समयमा नेपाली कांग्रेसका तत्कालीन अर्का प्रखर नेता हरिवोल भट्टराई माथी निगरानी राख्नु भन्ने पनि आदेश थियो । हामीले निगरानी राखी रह्यौं । भूमिगत हुने छॉटकाट आयो, त्यही खबर माथि गरियो । भूमिगत नहुन्जेल पक्राउ गर्ने आदेश आएन । जब भूमिगत भए, अनि पक्राउ गर्ने आदेश आयो । धेरै कोशिश गरियो, पक्रिन सकिएन । बाग्मती अंचल प्रहरी कार्यलयमा कार्यरत तत्कालीन प्रहरी उपरीक्षक अनन्तराम भट्टराई(हरिबोल भट्टराईजी को सहोदर भाई) सर र म माथी जानी जानी नपक्रेको आरोप लाग्यो । भट्टराई सरको हेडक्वाटर र मेरो रसुवा सरुवा भयो । हामीले ईमान्दारी पूर्वकनै काम गरेका थियौं । तर माथिल्ला अधिकारीहरुलाई विश्वास लागेन ।
यसरी म रसुवा जिल्लाको पहिलो प्रमुख बने । त्यो भन्दा अगाडी इन्सपेक्टर प्रमुख हुने गथ्र्यो । दिनरात खाई नखाई खटिनु पर्ने, सानो भूलमा पनि राम्रै सजाय पाएर करिअर बिग्रेला भन्ने पीर । मलाई त सजाय भएपनि काठमांडौंको बसाई भन्दा प्रमुखको हैसियतमा रसुवाको बसाई नै ठिक छ भन्ने लाग्यो र तुरुन्तै रवाना लिएर रसुवा पुगे ।
रसुवा पुगेपछि कारागार निरीक्षण गर्दा देखें दमन ढुंगाना, रघुजी पन्त र बद्री खतिवडा(सबै हामीले नै पक्राउ गरेको) कारागार सरुवा भएर त्यही पुग्नु भएको रहेछ । वन्दी पनि जम्मा ४÷५ जना मात्र । सबैजसो राजनैतिक बन्दी । आफ्नो घर थिएन, भाडाको कारागार थियो । दमनजी संग काठमांडौंमा उहॉहरुलाई पक्रदा भएका कुराहरु संझिदै एकछिन रमाइलो गफ गरियो ।
त्यतिबेलाको रसुवाको सिडिओ अलि कडै स्वभावको हुनु हुन्थ्यो । रसुवा त्यसै पनि जाडो ठाउँ, मौसम पनि जाडोकै थियो । उहॉहरुले घाम ताप्न र पत्रपत्रिका पढ्न पाउनु पर्ने २ वटा मांग राख्नु भयो । सिडिओलाई भेटेर मागहरु सुनाएँ, शुरुमा मान्नु भएन । तर, अलि जोड गरेपछि मान्नु भयो । त्यसपछि उहाँहरुसंग सम्बन्ध राम्रो बन्यो ।
उहॉ सभामुख बन्नु भएपछि काम बिशेषले २÷४ पटक भेट भयो । बिचमा उहॉले राजनीति छोडे जस्तो लाग्थ्यो । तर, एक्कासी ०७४ को आम निर्वाचनमा भक्तपूर–२(हाल हामी बस्दै आएको निर्वाचन क्षेत्र) बाट चुनाव लड्नु भयो । अहिलेको चुनाव उहॉहरु जस्तो निष्ठाको राजनीति गर्नेको निम्ति होईन, त्यसैले नराम्ररी पराजित हुनु भयो ।
हिजो उहॉको निधनको खबर सुनेर अत्यन्त दुख लाग्यो । दल र दलभित्रका आफ्नो गुटप्रति समर्पित हुन पाउदा गर्वको अनुभव गर्ने आजकलका सरकारी पदमा आसिन ब्यक्तित्च र शक्ति केन्द्रहरुको भीडमा उहॉ एक दूर्लभ पात्र हुनु हुन्थ्यो भन्ने लाग्दछ ।
शान्ति प्रकृयामा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका निष्ठावान सरल प्रजातन्त्रवादी राजनीतिज्ञ र एउटा असल सभामुखको रुपमा उहॉलाई देशले संधै संझि रहनेछ ।
अन्तिम संस्कारमा उपस्थिति जनाउने बिचार हुँदाहुदै पनि परिस्थिति अनुकुल हुन सकेन । टाढैबाट पूर्व सभामुख स्व. दमन नाथ ढुंगानाज्यू प्रति भावपूर्ण श्रद्धासुमन ।
टिप्पणीहरू: