शुक्रबार, १२ पुस २०८१

केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्न भीम रावलकाे अपिल


काठमाडाैं, ११ पुस ।  नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले पार्टी अध्यक्ष केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्न अपिल गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल एक्समा लेख्दै रावलले आफूलाई पार्टीबाट हटाउने ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही कदम भनेका छन्।

रावलले लेखेका छन्, ‘नेकपा (एमाले) को निर्माण र विस्तारका साथै राष्ट्रियता, स्वाधीनता, समृद्धि, जनाधिकार, न्याय र समानताका लागि निरन्तर सक्रिय रहेर योगदान गर्दै आएकोमा देश, जनता, सुशासन, विधि, पद्धति, सदाचार, सत्य र तथ्यको पक्षमा उभिएकोमा मलाई पार्टी सदस्यबाट हटाउने केपी ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय हो। कतिपय भ्रष्ट, अनैतिक, फौज्दारी मुद्धा लागेका, राष्ट्रिय एकता, अखण्डता, संस्कृति र एमाले विरोधी एवं विचौलिया र दलालहरुलाई काखि च्याप्नेले देशभक्त इमान्दार मानिसमाथि प्रहार गरेकोमा मलाई आश्चर्य लागेको छैन। सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु।'

बुधबार एमाले सचिवालय बैठकले रावललाई पार्टी सदस्य समेत नरहने गरी निष्काशित गर्ने निर्णय गरेको थियो।

यस्तै, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरिएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ