सोमबार, ०८ भदौ २०८३

इरान युद्ध नयाँ चरणमा जाने जोनसनको संकेत


वासिङ्टन । अमेरिकी प्रतिनिधिसभाका अध्यक्ष माइक जोनसनले इरानसँगको जारी द्वन्द्व चाँडै नयाँ चरणमा प्रवेश गर्ने बताउँदै अमेरिकी सहयोगी राष्ट्रहरू पनि त्यसमा सहभागी हुने सङ्केत गरेका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा इरानलाई आणविक हतियार विकास गर्नबाट रोकिएको दाबी गर्दै सैन्य अभियानको उद्देश्य पूरा भएको बताए ।

फक्स न्युजसँग आइतबारको अन्तर्वार्तामा उनले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु विगत पाँच दशकदेखि अमेरिकी प्रशासनहरूको साझा लक्ष्य रहेको र राष्ट्रपति ट्रम्पले त्यो उद्देश्य पूरा गर्नुभएको दाबी गरे । इरानसँगको वार्तामा मुख्य चुनौती विश्वासको अभाव रहेको बताउँदै उनले ‘वार्ताको टेबलको अर्को छेउमा रहेका इरानीहरूलाई विश्वास गर्न सकिँदैन’ भने।

जोनसनले इरानमा जारी सैन्य संलग्नताप्रति अमेरिकाभित्र असन्तुष्टि बढे पनि रिपब्लिकन पार्टीले आगामी नोभेम्बर ३ को मध्यावधि निर्वाचनमा प्रतिनिधिसभाको बहुमत कायम राख्ने दाबी गरे । उनले निर्वाचनअघि द्वन्द्व समाधान भए त्यसले पार्टीलाई थप सहयोग पुग्ने बताए । युद्धका कारण ऊर्जा लागत र मुद्रास्फीति बढेको तथा अमेरिकामा पेट्रोलको मूल्य प्रतिग्यालन चार अमेरिकी डलरभन्दा माथि पुगेको विषय पनि राजनीतिक बहसमा आएको छ ।

राष्ट्रपति ट्रम्पका प्रमुख सहयोगी जोनसनले इरानको मुख्य खतरा समाप्त पारिएको दाबी गर्दै ‘हामीले मुख्य खतरा हटाएका छौँ’ भने । आणविक हतियार विकास गर्नबाट इरानलाई रोक्नु सैन्य अभियानको प्रमुख उद्देश्य रहेको उनले दाेहाेर्याए।

ट्रम्प प्रशासनले इरानविरुद्धको सैन्य कारबाही आणविक क्षमता विकास रोक्न गरिएको बताउँदै आएको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त सैन्य कारबाही गरेपछि सर्वोच्च नेता अली खामेनीसहित केही वरिष्ठ अधिकारीको मृत्यु भएको थियो । त्यसपछि तेहरानले हर्मुजको जलघाँटी हुँदै समुद्री आवागमन रोक्नुका साथै मध्यपूर्वस्थित अमेरिकी सैन्य प्रतिष्ठानमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको थियो ।

अप्रिलमा प्रारम्भिक युद्धविराम भए पनि क्षेत्रमा तनाव र सीमित सैन्य आदानप्रदान जारी रह्यो । पछिल्ला सातामा सक्रिय युद्ध घटेको भए पनि राष्ट्रपति ट्रम्पले इरानमाथि थप आर्थिक प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ । अमेरिका, इजरायल र इरानबीच अनिश्चित युद्धविराम कायम रहे पनि समुद्री सुरक्षाको जोखिम यथावत् छ ।

इरानी अधिकारीहरूले हर्मुजको जलघाँटीमाथिको नियन्त्रण नछाड्ने अडान राख्दै आएका छन् । उक्त जलमार्गमा अवरोध हुँदा विश्व बजारमा इन्धन तथा प्राकृतिक ग्यासको मूल्य बढेको छ । जोनसनले भने हर्मुजमा तेल ट्याङ्करको आवागमन बढेको रिपोर्टसमेत उल्लेख गर्दै ‘हामी चरणबद्ध रूपमा काम गरिरहेका छौँ’ भने।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ