सोमबार, ०८ पुस २०८१

जीवनजल पिउन नपाएर चारजनाको मृत्यु


जानकी (बाँके), १८ भदौ । झाडा पखालाले बाँकेको नरैनापुरमा चार जनाको मृत्यु भएको छ ।

शरीरमा पानीको कमीले एकैपरिवारका तीनसहित एकजना बालकको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले जानकारी दिए । नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिए ।   

‘मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ७२ घण्टामा चार जनाको मृत्यु भएको हो ।’ फोकल पर्सन श्रेष्ठले भने ।

नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नागेन्द्र शाहका अनुसार मृतकको उपचार गर्न समय भएन । मृतकका आफन्तका अनुसार मृतक चारैजनालाई झाडापखाला भएको समयमा जीवनजललगायत अन्य झोलिलो पिउने पदार्थको अभाव भएको थियो । स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा झाडापखाला भई शरीरमा पानीको मात्रा कमी भएकाले चारै जनाको मृत्यु भएको उनको भनाई थियो ।

यही भदौ १४ गतेदेखि फैलिएको झाडापखाला महामारीका रुपमा भने नरहेको स्वास्थ्य शाखाका प्रमुख शाहले जानकारी दिए । नरैनापुर–३ स्थित गेग्लीका श्यामलाल पासीको घरमा पहिलोपटक झाडापखालाको सङ्क्रमण देखिएको थियो । 

नरैनापुर–३ कालाफाँटा स्वास्थ्य संस्थाका प्रमुख मो तैयब राइनले गेग्लीमा झाडापखाला फैलिएको जानकारी पाउनेबित्तिकै आवश्यक औषधिसहितको टोली परिचालित गरिएको बताए । गाउँमा अहिले दुई बालबालिकामा पखाला पुष्टि भएको बताउँदै एकको स्थानीयस्तरमा र एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको उनले जानकारी दिए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ