- असार ०६, २०८०
काठमाडौं, १८ असाेज । नेपाली चलचित्रप्रेमी दर्शकका लागि जितु नेपाल नयाँ होइनन्, तर फिल्मवृत्तमा ‘हिरो’का रुपमा भने उनी नयाँ नै हुन् । फिल्म ‘ह्यारी कि प्यारी’मा ‘हिरो’ भएर अभिनेत्री साम्राज्ञी आरएल शाहसँग रोमान्स गरेका जितु ‘ज्वाइँ साब’मा नायिका निती शाहको जोडी बनेर दर्शकमाझ आउँदैछन् ।
फिल्म ‘ज्वाइँ साब’ मा जितु जोडिनु रोचक कुरा छ । जितुका अनुसार ‘ज्वाइँ साब’को दोस्रो प्रस्तावमा उनी फिल्ममा जोडिएका हुन् । ‘यो फिल्मका लागि मलाई धेरै अघि कुरा कुरा आएको थियो । मैले स्क्रिप्ट पनि पढेको थिएँ । तर कार्यक्रमका लागि बाहिर जानु पर्ने भएकाले मैले त्यो बेला भ्याउँदिन भनेको थिएँ’, जितु भन्छन्, ‘फिल्मका लेखक शंकर धितालसँग एउटा कथामा काम गरिरहेका थियौं । उहाँले ‘ज्वाइँ साब बन्ने भयो । तपाईंलाई नै लिने कुरा छ’ भन्नुभयो । अनि मैले स्क्रिप्ट लिएर आउनु न भनेपछि स्क्रिप्ट पढें । अघिल्लो स्क्रिप्ट भन्दा दोस्रो स्क्रिप्टमा धेरै परिवर्तन भएको रहेछ । निर्माता पनि परिवर्तन हुनुभएछ ।’
जितुले फिल्मको पहिले स्क्रिप्ट पढ्दा कथाको मेसो नपाए पनि दोस्रो स्क्रिप्ट पढ्दा कथा मनपरेको खुलाए । ‘पहिला बन्ने भनेर झण्डै ७ महिना ग्याप भयो । अहिले आएर फिल्म बन्यो’, जितु भन्छन् ।
जितुका अनुसार उनको चरित्र र कथा रमाइलो किसिमको छ । ‘जे मान्छेले चाहन्छ, उत्पात गर्छ । त्यो उसले पाउँदैन । त्यो नपाए पछि उसले त्यो काम छोड्छ । तर फेरी त्यही मै पात्रमाथि आइपुग्छ’, जितु खुल्छन्, ‘टिपिकल फिल्म छ । कथा सामान्य छ, तर आम दर्शकका लागि कथा फरक लाग्न सक्छ ।’
टिजर र गीतमा जितुलाई बेहुला भएर बेहुलीको घर भित्र्याइएको देखाइएको छ । यो कुरा आफ्ना लागि नौलो भएको जितुको भनाई छ । ‘सामान्यतया दुलही दुलाहाको घरमा भित्रिन्छिन्, तर फिल्ममा ठीक उल्टो छ । अन्य रोचक कुरा पनि फिल्ममा छन्’, जितु भन्छन् ।
केही समयअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा फिल्मको सुटिङको एक दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यो दृश्यमा सेतो पहिरनमा जितु हातमा पासपोर्ट र नानी बोकेर भावुक मुद्रामा हिँडिरहेका थिए । उनका पछि नायिका निती पनि सेतो ब्लाउज र हरियो साडीमा नेपाली राष्ट्रिय झण्डा बोकेर भावुक थिइन् ।
सामाजिक सञ्जालमा यो क्लिप भाइरल हुनुलाई धेरैले फिल्म प्रमोसनको ‘फण्डा’ पनि भने । तर त्यो बुझाईलाई जितु गलत भन्छन् । ‘हामीले त्यो क्लिप सार्वजनिक गरेका होइनौं । अर्को कुरा त्यो फण्डा पनि होइन । हामीले फिल्मका लागि चाहिने दृश्य खिचेका हौं । त्यहाँ उपस्थित मानिसहरुलाई भिडियो र फोटो नखिच्न भनेका थियौं । तर मान्छे यति धेरै थिए कि कसलाई फोटो र भिडियो खिच्न रोक्न सक्ने अवस्थै थिएन’, उनी भन्छन् ।
जितुलाई फिल्मको ‘ज्वाइँ साब’ क्यारेक्टर मनपरेको रहेछ । ‘फिल्मको प्रमुख पात्र निकै चाख लाग्दो छ । फिल्ममा अनावश्यक कुराहरु छैन । सोसियल कमेडी छ, कथा सरर एउटै ट्रयाकमा बगेको छ । दर्शकलाई दिक्क लाग्ने केही छैन’, जितु दाबी गर्छन् ।
उनले दर्शकलाई ‘ज्वाइँ साब’ आफ्ना लागि भन्दा पनि समग्र मनोरञ्जनका लागि हेर्न आग्रह गरे । ‘हाम्रो फिल्म अहिले चलि आएको फिल्मभन्दा फरक खालको छ । फिल्ममा हाम्रो घर, परिवारमा हुने घटनाक्रमलाई हेर्ने र एकैछिन दुःख पीडा भुलाउन तथा रमाइलो मनोरञ्जन लिनका ‘ज्वाइँ साब’ हेर्न आग्रह गर्छु’, जितु भन्छन् ।
जितुले आफू जबरजस्ती हिरो नभएको दाबी गरे । ‘म हिरो हुँला भन्ने जिन्दगीमा कहिल्यै सोचेको थिइनँ, न अरुले सोचेका थिए । म अहिले हिरो भएँ भनेर एक खालको फिल्म नगर्ने, कार्यक्रम नगर्ने भन्ने होइन । म कमेडी पेशामा छु । मलाई केन्द्रविन्दुमा राखेर सुहाउने पात्र खडा गरेर कथा लेखिएको भएर नै म फिल्ममा नायक भएर आएँ । यो मेरो लागि सौभाग्य हो । म भोलि नायकै भएर काम गर्छु भन्ने होइन । आफूलाई फिट हुने चरित्र छ भने सानोठूलो जस्तोसुकै चरित्र निभाउँछु’, उनी भन्छन् ।
कलाकारलाई कुनै पनि फिल्म करियरको लागि कोशेढुंगा साबित होस् भन्ने लाग्छ । जितु पनि यो कुरालाई स्वीकार्छन् । मेरो करियरमा यो फिल्म कोशढुंगा साबित हुन्छ भन्नेमा आशावादी छु किनभने राम्रो कथावस्तुमा मलाई फिट भएको रोल छ । मैले पनि निर्देशकले भने अनुसार कथाको मर्म अनुसार नै अभिनय गरेको छु । म उत्साहित पनि छु’, उनी भन्छन् ।
वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।
टिप्पणीहरू: