- असार ०७, २०८०
काठमाडौँ । जिल्ला समन्वय समिति (जिसस )का प्रमुखहरुले आफूहरुले गर्ने काम नभएको गुनासो गरेका छन् । जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अवसरमा शुक्रबार चन्द्रागिरिमा आयोजित कार्यक्रममा उनीले बजेट, योजना र कार्यादेशअनुसार काम भए नभएको अनुगमन र समन्वय गर्ने काममा आफ्नो भूमिका हुने भएपनि यो भूमिका निर्वाह गर्न समस्या भएको धारणा राखे।
“जिल्ला समन्वय समितिका प्रमुखलाई संविधान प्रदत्त काम गर्न पनि समस्या भइरहेको छ । यसका तीनै तहका सरकारहरुले विशषे ध्यान दिनुप-यो । ” कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष खड्काले समन्वय समितिका प्रमुखहरुले अनुगमन, मूल्याङ्कन र समन्वयलाई प्रभावकारी बनाउँदै सङ्घ, प्रदेश र स्थानीय तहका सेवा प्रवाहलाई चुस्त बनाउन सहयोगीको भूमिका निर्वाह गर्न चाहिरहेको बताए । 'हामी काम गर्न चाहन्छौँ तर काम नै छैन । संविधान प्रदत्त काम गर्न अप्ठ्यारो परिरहेको छ ।' उनले गुनासाे गरे ।
जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख शान्ति पाण्डेले गाउँपालिका र नगरपालिकाबीच समन्वय तथा विकास निर्माणसम्बन्धी काममा सन्तुलन कायम गर्ने गरी अनुगमन गर्नेलगायतको महत्वपूर्ण जिम्मेवारीसहित जिल्ला समन्वय समितिको व्यवस्था गरिएपनि यसको व्यवहारिक कार्यान्वयन नभएको गुनासो गरे।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा समन्वयकारी भूमिका निर्वाह गर्न आफूहरु तयार रहेको धारणा राखे ।
टिप्पणीहरू: