बिहिबार, ०५ असार २०८२

‘इजरायल र इरानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि गरियोस्’


काठमाडौँ। इजरायल र इरानबीच युद्ध चर्किएसँगै त्यहाँ रहेका नेपालीहरुको स्थिति, सुरक्षा र उद्धारका लागि कूटनीतिक पहल बढाउन सांसदहरुले सरकारको ध्यानार्कषण गराएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले नेपाल फर्किन चाहने र उद्धारको माग गर्ने नेपालीहरुसँग तत्काल सम्पर्क गरी सोहीअनुसार यी दुई देशसँग समन्वय एवं कूटनीतिक पहलकदमी बढाउन सभाअध्यक्षमार्फत परराष्ट्र मन्त्रालयको ध्यानार्कषण गराए।

विश्व शान्तिको कामना गर्दै राष्ट्रियसभा सदस्यहरुले यसबाट नेपाललाई पर्ने सम्भावित खतराबारे सरकारलाई सतर्कता अपनाउनसमेत आग्रह गरे।

विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी राईले इजरायल र इरान युद्धको मारमा नेपालीको स्थिति र सुरक्षाबारे सरकारलाई सदनसमक्ष जानकारी गराउन माग गरिन्।

विशेष समयमा दलीय आधारमा उपलब्ध समयमा नेकपा(माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगर, नेपाली कांग्रेसका सांसद पदमबहादुर परियार र नेकपा(एमाले)का सांसद भगवती न्यौपानेले इजरायल र इरानयुद्धले नेपालमा पर्ने प्रभावबारे सरकारको ध्यानार्कषण गराए।

‘इजरायलमा झण्डै सात हजार र इरानमा एक दर्जन नेपाली छन्। सरकारले उहाँहरुको सुरक्षाका लागि केही कदम पनि चालेको छ, कूटनीतिक पहलबाट स्वदेश फर्किन चाहनेलाई तत्काल फिर्ता गरियोस्’, सांसद न्यौपानेले भनिन्।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ