- असार ०६, २०८०
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति र प्रधानमन्त्री हुने कुराले आफूलाई नलोभ्याउने बताएका छन्।
पार्टीको विशेष महाधिवेशनको सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै उनले आफ्नाे निजी महत्त्वाकाङ्क्षा केही नभएकाे बताएका हुन्।
‘मेरो लड्ने तरिका शान्त र मधुरो थियो। मेरो कयौँ शैलीहरूसँग साथीहरू असहमत भएको म बुझ्थे। तर पनि म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिनँ। म यहाँ प्रस्ट भन्न चाहन्छु— मेरो निजी महत्त्वाकाङ्क्षा केही छैन। मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित गरेन। यस्ता अवसरहरू आए तर मैले रुचि देखाइनँ। त्यस्तै सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन’, उनले भने।
नेता कोइरालाले कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहने बताए।
‘मैले मेरो परिवारबाट पाएको यही शिक्षा मेरो जीवन दर्शन हो र म यही जीवन दर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहने छु’, उनले भने, ‘यस क्रममा मैले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैली सँग लड्नु परेको थियो भने अर्कोतिर ती युवाहरूको असन्तोषको सामना गर्न परिरहेको छ, जो ऊर्जावान् र जोसिलो भएर मेरो अगाडि उपस्थित हुन्छन्।’
उनले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताए। नेता कोइरालाले आफू पार्टीगत रुपमा कुनै व्यक्तिगत स्वार्थमा नअल्झिएको स्पष्ट पारे।
टिप्पणीहरू: