- भदौ ०२, २०८१
नेपाली कांग्रेसभित्र यतिबेला उठेको एउटा नयाँ राजनीतिक बहसले मुलुकको राजनीतिमा दूरगामी प्रभाव पार्न सक्ने संकेत गरेको छ। संस्थापन इतर समूहले आयोजना गरेको भेलामा समूहले देउवालाई पार्टी सभापतिकै हैसियत उपलब्ध गरायो। विशेष महाधिवेशनले गगन थापालाई सभापति बनाएको उनीहरूले मानेनन्। गुटकाे भेलाले उपलब्ध गराएकाे सभापतिको हैसियतमा देउवाले जोडतोडका साथ भने, ‘म हिन्दु हुँ।’ सनातन धर्मप्रति आफ्नो आस्था प्रकट गर्नु र राष्ट्रिय भेलाले सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनु सामान्य राजनीतिक अभिव्यक्ति मात्र होइन। यसले नेपाली कांग्रेसको भावी राजनीतिक दिशा र उसको मतदाता आधारबारे गम्भीर प्रश्न जन्माएको छ।
देउवाले आफू हिन्दु भएको बताउँदै अन्य धर्मको विरोध नगरेको र सबै धार्मिक समुदायलाई आफ्नो धर्म मान्ने अधिकार हुनुपर्ने धारणा राखे। त्यसैले यसलाई तत्कालै ‘हिन्दु राष्ट्रको पक्षमा कांग्रेस’ भनेर निष्कर्ष निकाल्नु हतार हुन सक्छ। तर राष्ट्रिय भेलाको निर्णयमा सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने विषय समावेश हुनु भने पार्टीको परम्परागत धर्मनिरपेक्ष राजनीतिक दृष्टिकोणसँग जोडेर हेर्नुपर्ने विषय बनेको छ।
यहीँबाट कांग्रेसको भविष्यसँग जोडिएको मूल प्रश्न सुरु हुन्छ-के कांग्रेस आफ्नो परम्परागत लोकतान्त्रिक, बहुलवादी र धर्मनिरपेक्ष पहिचानलाई कायम राख्दै सनातन संस्कृतिको पक्षमा उभिन खोज्दैछ, वा ऊ विस्तारै हिन्दु पहिचानको राजनीतिक धारतर्फ अघि बढ्न खोजिरहेको छ? यो प्रश्नको उत्तर कांग्रेसका लागि सजिलो छैन।
नेपालमा पछिल्ला वर्षहरूमा धर्म, संस्कृति र पहिचानको मुद्दा राजनीतिको केन्द्रमा आउँदै गएको छ। हिन्दु राष्ट्रको माग गर्ने राजनीतिक शक्तिहरूले आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरिरहेका छन्। त्यस्तो अवस्थामा कांग्रेसभित्रै सनातन धर्म र राष्ट्रिय पहिचानको विषय प्रवेश गर्नुले उसले बदलिँदो जनमतलाई सम्बोधन गर्न खोजेको अर्थ पनि लाग्न सक्छ। तर यसमा जोखिम पनि उत्तिकै छ।
नेपाली कांग्रेस केवल एउटा धार्मिक वा सांस्कृतिक पहिचान बोकेको दल होइन। यसको राजनीतिक इतिहास लोकतन्त्र, नागरिक अधिकार, बहुलवाद र सबै समुदायको सहभागितासँग जोडिएको छ। कांग्रेसले सनातन धर्मलाई प्राथमिकता दिँदा त्यसले हिन्दु मतदातालाई आकर्षित गर्न सक्ला; तर यही कारणले गैरहिन्दु समुदाय, धर्मनिरपेक्ष मतदाता तथा कांग्रेसको परम्परागत उदार लोकतान्त्रिक आधारमा मनोवैज्ञानिक दूरी पैदा हुने सम्भावना पनि रहन्छ।
अझ महत्त्वपूर्ण कुरा, कांग्रेसभित्रै यस विषयमा एकमत देखिँदैन। राष्ट्रिय भेलामा तयार गरिएको प्रारम्भिक दस्तावेजमा यस्तो विषय नरहेको र अन्तिम चरणमा सनातन धर्मसम्बन्धी प्रावधान थपिएको विवरण सार्वजनिक भएको छ। कांग्रेस नेता विमलेन्द्र निधिले पनि यस विषयमा फरक धारणा राखेका छन्। यसले धार्मिक मुद्दाभन्दा ठूलो प्रश्न कांग्रेसभित्रको वैचारिक दिशाको भएको देखाउँछ।
यसलाई केवल देउवाको व्यक्तिगत धार्मिक आस्थाका रूपमा बुझ्नु पनि पर्याप्त हुँदैन। देउवा नेपालको राजनीतिमा लामो समयदेखि प्रभावशाली नेता हुन्। उनले आफ्नो व्यक्तिगत धार्मिक पहिचानलाई सार्वजनिक रूपमा जोड दिनु र उनीनिकट समूहले पार्टीको राजनीतिक दस्तावेजमा सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा समेट्नुबीच राजनीतिक सम्बन्ध खोजिनु स्वाभाविक हो।
तर कांग्रेसका लागि सबैभन्दा ठूलो चुनौती धर्मलाई राजनीतिक नारामा सीमित नगर्नु हो। यदि कांग्रेसले सनातन धर्मको कुरा गर्दा त्यसलाई नेपालको बहुधार्मिक र बहुसांस्कृतिक समाजको साझा सांस्कृतिक सम्पदाका रूपमा व्याख्या गर्छ, धार्मिक स्वतन्त्रता र सबै समुदायको समान अधिकारलाई केन्द्रमा राख्छ भने यसले पार्टीलाई नयाँ सामाजिक आधार निर्माण गर्न सहयोग गर्न सक्छ।
तर यदि यही मुद्दा चुनावी ध्रुवीकरणका लागि प्रयोग गरियो भने कांग्रेसले आफ्नो पुरानो उदार लोकतान्त्रिक चरित्र गुमाउने खतरा हुन्छ।
अर्कोतर्फ, हिन्दु पहिचानको मुद्दा उठाएर कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीजस्ता दलसँग प्रतिस्पर्धा गर्न खोजेको हो भने त्यो रणनीति पनि आफैँमा चुनौतीपूर्ण छ। हिन्दु राष्ट्र र राजसंस्थालाई लामो समयदेखि आफ्नो राजनीतिक पहिचान बनाउँदै आएको शक्तिसँग कांग्रेसले त्यही मुद्दामा प्रतिस्पर्धा गर्दा उसले आफ्नो मौलिक राजनीतिक पहिचान के बनाउने भन्ने प्रश्न अझ जटिल बन्न सक्छ।
कांग्रेसका लागि अर्को चुनौती नयाँ पुस्ता हो। पुरानो पुस्ताका मतदातालाई धार्मिक तथा सांस्कृतिक पहिचानको मुद्दाले आकर्षित गर्न सकिएला। तर युवा पुस्ताले कांग्रेससँग रोजगारी, सुशासन, भ्रष्टाचार नियन्त्रण, राजनीतिक स्थिरता र नेतृत्व परिवर्तनको प्रश्न पनि उठाइरहेको छ। त्यसैले केवल सनातन धर्मको मुद्दाले कांग्रेसको भविष्य सुरक्षित गर्ने सम्भावना देखिँदैन।
वास्तवमा कांग्रेसको आगामी भविष्य धर्मको मुद्दामा मात्र होइन, उसले आफूलाई कसरी पुनःपरिभाषित गर्छ भन्ने कुरामा निर्भर हुनेछ।
यदि कांग्रेसले सनातन संस्कृतिको सम्मान, धार्मिक स्वतन्त्रता, लोकतन्त्र, सामाजिक न्याय र आधुनिक राज्यव्यवस्थालाई एउटै राजनीतिक दर्शनभित्र समेट्न सक्यो भने उसले आफ्नो परम्परागत आधारलाई विस्तार गर्न सक्छ। तर यदि पार्टीभित्रै सनातन धर्मको नाममा नयाँ ध्रुवीकरण सुरु भयो भने त्यसले कांग्रेसलाई वैचारिक रूपमा अझ कमजोर बनाउन सक्छ।
देउवाको पछिल्लो अभिव्यक्तिले एउटा कुरा भने स्पष्ट गरेको छ-नेपाली कांग्रेसभित्र धर्म र पहिचानको बहस अब दबाएर राख्न सकिने अवस्थामा छैन।
अब प्रश्न देउवा हिन्दु हुन् कि होइनन् भन्ने होइन। प्रश्न यो हो-नेपाली कांग्रेस कस्तो राजनीतिक दल बन्ने हो?
कांग्रेसले अब बहुधार्मिक समाज रहेको नेपालमा सनातन संस्कृतिको सम्मान गर्दै सबै धर्म र समुदायको समान अधिकार सुनिश्चित गर्ने लोकतान्त्रिक बाटोमा लाग्छ वा हिन्दु पहिचानलाई आफ्नो राजनीतिक आधार बनाउँदै जान्छ भन्ने प्रश्न उठ्न थालेको छ।
पाँचपटक मुलुकको प्रधानमन्त्री भइसकेका देउवा गत भदौमा भएको जेनजी आन्दोलनमा सबैभन्दा धेरै मार खाने नेतामध्ये पर्छन्। उनले कल्पनासमेत नगरेको घटना घट्यो, आफ्नै निवासमा आन्दोलनकारीबाट निर्घात कुटिए। लोकतान्त्रिक आन्दोलनमा देउवाको भूमिका नकार्न सकिँदैन। तर चुनावदेखि चुनावसम्म र सत्ताका लागि ‘जे पनि’ देउवाकै पालामा सम्भव भयो। एजेन्डा नै नमिल्ने कम्युनिस्टहरूसँग चुनावी सहकार्यमा देउवाले मारेको छलाङ अहिले सिंगो कांग्रेसका लागि एउटा नमिठो यादमा सीमित हुन पुगेको छ।
तत्कालीन संस्थापन समूहले निर्धारित मितिमा महाधिवेशन गर्न आनाकानी गर्दाको परिणाम गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन भयो र विशेष महाधिवेशनले थापालाई अध्यक्ष बनायो। अहिले देउवा पक्षीय नेताहरूमा एउटा आकलनले उत्साह भरेको छ-‘अदालतले विशेषलाई मान्यता दिँदैन।’
नहोला भन्न सकिँदैन। तर अदालतले विशेष महाधिवेशनलाई मान्यता नदिँदैमा देउवा वा उनको समूहमा लागेकाहरूले कांग्रेसलाई गति दिने सामर्थ्य राख्दैनन्। खुर्पाको छेउँ बिँडैबाट भनेझैँ। एक त आधा कांग्रेस देउवाको पक्षमा छैनन्, जो छन् तिनको सामाजिक छविले कांग्रेसको शीर उचो बनाउने सम्भावना तत्कालका लागि देखिँदैन। यही बेला आएको देउवाको ‘म हिन्दु हुँ’ तुरुप एउटा बेमौसमी बाजा मात्रै हो।
टिप्पणीहरू: