मङ्गलबार, ०५ जेठ २०८३

ओलीले राेकेका विद्या भण्डारीकाे पार्टी सदस्यता कसरी भयाे नवीकरण ?


भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा आज सम्पन्न एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको छ ।

पार्टीका उपमहासचिव लेखराज भट्टले आज बसेको सचिवालय बैठकले भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको जानकारी दिए । यसैगरी  बैठकमा सरकारको कामको समीक्षा, पार्टी सदस्यता नवीकरण र विस्तार, पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजनका बारेमा छलफल भएको थियो । 

पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गरेकाे सचिवालय बैठकमा पदाधिकारीहरुको वरियता क्रम, संविधान संशोधनका विषय, पार्टी कार्यालय भवन निर्माणलगायतका प्रस्ताव पेस गरिएको थियो ।

बैठकमा विभिन्न ११ वटा प्रस्ताव पेसको जानकारी दिँदै नेता भट्टले अर्को बैठक यही जेठ ८ गते शुक्रबार बस्ने बताए । 

पूर्व राष्ट्रपति समेत रहेकी भण्डारी एमालेकाे महाधिवेशनमा अध्यक्षकाे प्रत्याशी बन्ने सम्भावना देखेपछि अध्यक्ष ओलीले नवीकरण राेकेका थिए । गत फागुनमा सम्पन्न निर्वाचनमा एमालेले लज्जास्पद पराजय बेहेरेपछि ओलीले राजीनामा दिनु पर्ने आवाज पार्टीकाे तल्लाे तहबाटै उठेकाे छ । 

भण्डारीकाे सदस्यता नवीकरणलाई कतिपय कार्यकर्ताले ओलीकाे पदमा टिकिरहने चालकाे रुपमा पनि बुझेका छन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ