- मंसिर १०, २०८२
झापा। झोलामा बोकेका पर्चा र घोषणापत्र बाँड्दै झापा निर्वाचन क्षेत्र नं १ का गाउँबस्तीमा मत मागिरहेका हिरण्यप्रसाद भट्टराई कोशी प्रदेशको १४ जिल्लाका प्रत्यक्षतर्फका उम्मेदवारमध्ये सबैभन्दा पाको उमेरको छन्।
मेचीनगर–१ गाडागल्ली निवासी भट्टराई यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल किसान मजदुर पार्टीको उम्मेदवार छन्। उमेरले पाको भए पनि उनी मतदाताको घर आँगन डुलेर मत माग्दा पटक्कै थाकेको देखिन्नन्।
‘मेचीनगर नगरपालिका क्षेत्रको २२ हजार मतदाता रहेको बाहुनडाँगीमा पैदलै घर दैलो गरिसकेको छु’, चुनावी चटारो बताउँदै उनी भन्छन्, ‘म उम्मेदवार भएको क्षेत्रमा दुई वटा नगरपालिका र एउटा गाउँपालिकाका २१ वटा वडा छन्। सबैतिर पैदल हिँडेर सम्भव नहुने भएकाले अब चाहीँ गाडी चढेर भोट माग्छु।’
सेताम्य भइसकेका दाह्री र जुँघा र ठाडो चन्दन लगाएको हुलियाले मात्र होइन, स्वभाव र व्यवहारका दृष्टिले उनी आध्यात्मिक व्यक्तित्व छन्। धार्मिक र आयुर्वेद विज्ञानमा गहिरो अभिरुची राख्दै आएका उनका जडीबुटीसम्बन्धी १४ पुस्तक प्रकाशित छन्।
‘नेपाली परम्परा र रीतिथितिको मौलिकताको जगेर्ना हुनुपर्छ भन्ने अभियानमा लाग्दै आएको थिएँ’, उनले चुनावमा उम्मेदवार बन्नुको कारण सुनाउँदै भने, ‘तपाईं जस्तो सामाजिक मान्छे चुनावमा उम्मेदवार बनेर संसद्मा जानुपर्छ भनेर पार्टीबाट अनुरोध आयो। मैले नकार्न सकिन र उम्मेदवार बनेँ।’
झापा–१ का एक लाख ३१ हजार ६७ जना मतदातासँग मत माग्दै यतिबेला भट्टराईसँगै १३ दलका र दुई स्वतन्त्र गरी १५ जना उम्मेदवार घरदैलोमा व्यस्त छन्। यस क्षेत्रमा मेचीनगर नगरपालिकाको १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ तथा भद्रपुर नगरपालिकाको ९ र १० नम्बर वडासहित जम्मा २१ वटा वडा छन्।
पाको शरीरका कारण धेरै हिँडडूल गर्दा स्वास्थ्यमा समस्या हुने गरेता पनि उनी उत्साहपूर्वक चुनावी प्रचारमा जुटिरहेका छन्। नयाँ जेनजी मतदातादेखि वृद्धवृद्धाले मत दिने आश्वासन दिलाउने गर्दा पाको उमेर बिर्सिएर नयाँ जोश र जाँगर आउने गरेको उनी बताउँछन्।
‘बुढेसकालमा बा पनि उठ्नुभएछ, एउटा मत दिउँला भन्छन्’, जेनजी नानीबाबु घरदैलोमा जाँदा मतदातासँगको संवाद सम्झिँदै उनी भन्छन्, ‘ज्येष्ठ नागरिक त झन् आफ्नै उमेरको हुनुहुँदोरहेछ भनेर जिताउने भन्नुहुन्छ। सबैले माया र विश्वास गर्नुभयो भने चुनाव जित्छु होला।’ चुनावमा जित हार जे भएता पनि आफूले सांसद बन्ने चुनावमा उठेर लोकतान्त्रिक अभ्यास गरेको उनको धारणा छ।
अधिकांश पाको उमेरको व्यक्तिहरू घरमै थन्किएर बसेको जनाउँदै उनले उम्मेदवार बनेर ज्येष्ठ नागरिकको हक, हित र अधिकारको मुद्दा उठाएको बताए। झापा जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ ९० जना उम्मेदवार चुनावी मैदानमा छन्। उनीभन्दा पाको उमेरको उम्मेदवार अर्को छैन। उनी आफूलाई फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको देशभरकै उम्मेदवारमध्ये सबैभन्दा पाको भएको दाबी गर्छन्।
निर्वाचन आयोगले प्रकाशित गरेको कोशी प्रदेशका १४ जिल्लाका उम्मेदवारको सूची हेर्दा उनी प्रदेशकै सबैभन्दा पाको उम्मेदवार देखिन्छन्। कोशी प्रदेशको दोस्रो पाको उम्मेदवारमा ओखलढुङ्गा निर्वाचन क्षेत्र नं १ का राष्ट्रिय जनमोर्चाका उम्मेदवार शेरबहादुर खत्री छन्। खत्री ८० वर्षीय हुन्। झापा–२ मा नेपाल जनमुक्ति पार्टीबाट उम्मेदवार बनेका मानवबहादुर पुलामी मगर पनि ७५ वर्षीय हुन्।
टिप्पणीहरू: