शनिबार, २४ जेठ २०८२

गृहमन्त्रीकाे प्रश्न- कर्मचारीमाथि अनुसन्धान हुँदा सबै मन्त्रीहरुले राजीनामा दिनुपर्ने हो? (भिडियाे)


फाइल तस्बिर

काठमाडाैँ। गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन्।

शनिबार काठमाडाैँमा सञ्चारकर्मीहरुसित संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री लेखकले गृहमन्त्रीमा हजारौँमा नभएर लाखौँका कर्मचारी रहेको बताए।

‘गृह मन्त्रालय यत्रो ठुलो मन्त्रालय छ। यसमा हजारमा होइन, लाखमा कर्मचारी छन्। लाखौँलाख कर्मचारी संवैधानिक निकाय यसमा अनुसन्धान गर्न सक्षम निकायले कुनैबेला बेला कुनैपनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ’, उनले भने, ‘कुनैपनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरुले राजीनामा दिँदै जाने हो? के त्यही पद्धति बसाउने हो? त्यो सम्भव छ? आजसम्म त्यस्तो भाको छ? त्यसकारण मैले भनिसके मेराविरुद्ध राजनीतिक रुपले नियोजित रुपले षडयन्त्रमुलक ढंगले झुटाप्रचारबाजी भइरहेको छ।

मन्त्री लेखकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै नभई आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफू पदबाट मात्र नभई राजनीतिबाट राजीनामा दिने बताए।

‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, यदि मेरो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने प्रमाणित भयो भने म पदबाट होइन राजनीतिबाट राजीनामाम दिन्छु’, उनले भने,‘म सबैलाई आग्रह गर्दछु मेराविरुद्ध नियोजित र सडयन्त्रमुलक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ।’

उनले सो विषयमा विस्तृत धारणा राख्न आगामी जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा समय माग गरेको जानकारी दिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ