- असार ०७, २०८०
काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट ‘भिजिट भिसा’मा संगठित रूपमा हुँदै आएकाे रकम असुलीकाे प्रकरण गृहमन्त्री रमेश लेखकको सचिवालयसम्म जाेडिएकाे छ । ‘भिसा सेटिङ प्रकरण’मा गृहमन्त्रीको संलग्नता रहेकाे भन्दै प्रश्न उठेसँगै लेखकमाथि गम्भीर नैतिक संकट उत्पन्न भएको छ ।
अध्यागमन कार्यालयबाट दैनिक प्रतिव्यक्ति ४० देखि ५० हजार ‘भिजिट भिसा’का नाममा संगठित रूपमा असुली गरेर ‘सेटिङ’मा विदेश पठाइरहेको तथ्य बाहिरिएसँगै अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित ५ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइसकेको छ ।
‘अख्तियारले अनुसन्धान गर्दैछ’ भन्ने जानकारी पाएलगत्तै गृहमन्त्री लेखकले भट्टराईलाई अघिल्लो दिन नै मन्त्रालय तानेका थिए । अख्तियारले रकमसहित पक्राउ गर्ने योजना बनाएकोमा त्यो भने सफल हुन सकेन । भट्टराईसँगै अन्य चार जनालाई पनि बयान सकिएसँगै उनीहरूसँग भएको मोबाइल डिभाइस र कम्प्युटर नियन्त्रणमा लिएर अनुसन्धान सुरु भइसकेको छ ।
प्रारम्भिक बयानमा उनीहरूले ‘गृहमन्त्री लेखकको सचिवालयसम्मको सेटिङमा रकम असुली गरेको’ बताएका छन् ।
भिजिट भिसा सेटिङको पोल खुल्ने डरले गृहमन्त्री लेखकले अध्यागमनका नायब सुब्बाहरू प्रेमप्रसाद पौडेल र वीरभद्र जोशीलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयमा तानेका छन् भने नरबहादुर थापालाई बाँके जिल्ला प्रशासनमा सरुवा गरिएकाे छ । कम्प्युटर अपरेटर पवन गुरुङ, प्रदीपकुमार यादव, धनराज उपाध्याय र उदेन सुवेदीलाई कारागार व्यवस्था विभाग पठाइएकाे छ ।
यस घटनाक्रमले गृहमन्त्री लेखकलाई नैतिक संकटकाे भुमरीमा धकेलेकाे छ । गृहमन्त्रालयले शनिबार विज्ञप्ती निकालेर गृहमन्त्रीकाे संलग्नता नरहेकाे दावी गरे पनि सर्वसाधारणले विश्वास गरेका छैनन् ।
अख्तियारको अनुसन्धानमा भिजिट भिसाको सेटिङ गृह मन्त्रालयसम्म रहेको खुलेसँगै गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर अनुसन्धानमा सघाउन भन्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सार्वजनिक रूपमा अपिल गरेका छन् ।
साथै, गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा उजुरी परेसँगै प्रधानमन्त्री केपी शर्मा ओली दबाबमा परेका छन् ।
‘भ्रष्टाचार गर्दिनँ, र भ्रष्टाचारीको मुख पनि हेर्दिनँ’ भनेर सुशासनको प्रमुख नारा बनाएर भाषण गरिरहेका प्रधानमन्त्री ओलीलाई आफ्नै क्याबिनेटका गृहमन्त्री ‘भिसा सेटिङ’को नाममा ‘दैनिक ५० लाख रूपैयाँ बुझ्ने गरेको’ भन्दै आरोप लागेपछि त्यसको जवाफ दिनसमेत गाह्रो परिरहेको छ ।
सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठेपछि यिनै रमेश लेखकले मन्त्रीमाथि प्रश्न उठेपछि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्छ भनेर संसदमा बोलेका थिए । लामिछाने गृहमन्त्री हुँदा लेखक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक थिए । कांग्रेसको प्रमुख सचेतकको हैसियतमा उनले सदनमा तत्कालीन गृहमन्त्री लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनेर वकालत गरेका थिए ।
अहिले आफैमाथि भिजिट भिसा सेटिङको विषयमा प्रश्न उठ्दा उनले जवाफ दिन सकिरहेका छन् ।
अख्तियारको छानबिनमा पूर्ण सहयोग: गृह मन्त्रालय
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीसम्बन्धमा अख्तियारको छानबिनमा गृह मन्त्रालयले आफ्नो पूर्ण सहयोग रहने बताएकाे पारेको छ । ‘भिजिट भिसा’मा युवालाई विदेश पठाएर मोटो रकम असुलेको र गृहमन्त्री लेखककै संलग्नतामा सो काम भएको समाचार सार्वजनिक भइरहँदा शनिबार गृह मन्त्रालयले विज्ञप्तिमार्फत् यस्तो जनाएको हो । गृह मन्त्रालयले ‘कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा गृहमन्त्रीको कुनै पनि प्रकारको संलग्नता नरहेको’ पनि दावी गरेको छ ।
टिप्पणीहरू: