- असार ०६, २०८०
भद्रपुर (झापा) । जल तथा मौसम विज्ञान विभागले यही असार १६ र १७ पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मनसुनी गतिविधि बढेर मेघगर्जन र चट्याङसहित ठूलो वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबानको जोखिममा रहेका सर्वसाधारणलाई सचेत रहन विशेष आग्रह गरेको छ । प्रशासनले अकस्मात बाढी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा नगर्न, खोला–खहरे नतर्न र सुरक्षित स्थानबारे पूर्वजानकारी लिन अनुरोध गरेको छ ।
जिल्लाका मुख्य नदीहरू कनकाई, बिरिङ, रतुवा, मेची, मावा र निन्दा नदी आसपासका क्षेत्रहरू बाढीबाट बढी प्रभावित हुने गरेका छन् । जिल्लाका १५ पालिकामध्ये दक्षिणी भेगका गौरीगञ्ज, कचनकवल, बाह्रदशी, झापा, कमल, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढी र डुबानको उच्च जोखिममा रहेका छन् ।
सम्भावित विपद्को सामना गर्न र जनधनको क्षति न्यूनीकरण गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी र स्थानीय तहका संयन्त्रहरूलाई राहत सामग्रीसहित तयारी अवस्थामा राखिएको छ । विपद् व्यवस्थापन र प्रतिकार्यको तयारीबारे जानकारी दिँदै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने, “जिल्ला विपद् व्यवस्थापन समितिले एकीकृत विपद् प्रतिकार्य योजना नै बनाएर पूर्वतयारी अवस्थामा रहेका छौँ । जिल्लामा धेरै प्रकारका विपद्को सम्भावना भए तापनि प्राथमिकताका आधारमा पहिलो नम्बरमा बाढी प्रकोप नै रहेको छ । त्यसैले जनधनको क्षति हुन नदिन हामीले सबै प्रकारका उपाय अवलम्बन गर्ने तयारी गरेका छौँ । प्रहरी, सेना, रेडक्रस र स्थानीय पालिका प्रमुखहरूसँग निरन्तर समन्वय भइरहेको छ ।”
झापामा बर्सेनि आउने बाढी र त्यसले पार्ने मानवीय सङ्कटलाई ध्यानमा राख्दै नेपाल रेडक्रस सोसाइटीले यस वर्ष तल्लो तटीय क्षेत्रमा विशेष पूर्वतयारी र खाद्यान्न भण्डारणको व्यवस्था मिलाएको छ । यस सम्बन्धमा जानकारी दिँदै नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले भने, “रेडक्रसको आँकडाअनुसार जिल्लाका आठ हजारभन्दा बढी घरधुरी बाढीको अति उच्च जोखिममा छन् ।
विगतका वर्षहरूमा हामीले ठूलो मानवीय क्षति ब्यहोर्नु परेकाले यस पटक पूर्वसूचना प्रणाली र स्थानीय तहको सक्रियतामा विशेष जोड दिएका छौँ । हाम्रा १२० जनाभन्दा बढी स्वयंसेवक र प्राथमिक उपचार टोली खोज तथा उद्धार सामग्रीसहित जिल्लाभर तयारी अवस्थामा छन् । आकस्मिक अवस्थाका लागि जिल्लाका सात स्थानमा खाद्यान्नलगायतका राहत सामग्री भण्डारण गरेर राखिएको छ । स्थानीय तह र सुरक्षा निकायसँगको सहकार्यमा सुरक्षित आश्रयस्थल र राहत सामग्रीको व्यवस्थापन चुस्त बनाएका छौँ ।”
यसैबीच, समुदायस्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि र उद्धार कार्यलाई प्रभावकारी बनाउन कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालय र सशस्त्र प्रहरी बलको आयोजनामा झापामा विशेष तालिम सम्पन्न भएको छ । यही असार ९ गतेदेखि सञ्चालित उक्त तालिममा जिल्लाका भद्रपुर, विर्तामोड, अर्जुनधारा, मेचीनगर र कनकाई गरी पाँच वटा नगरपालिकाका २० नगर प्रहरीहरूलाई समुदायस्तरमा विपद् व्यवस्थापन र उद्धारका लागि दक्ष बनाइएको छ ।
टिप्पणीहरू: