बिहिबार, २५ पुस २०८१

हृदयेश त्रिपाठीको नेतृत्वमा मधेश केन्द्रित दलहरु संवादमा


काठमाडौं, १९ पुस । तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले  विभिन्न दलहरुसँग वार्ता र सम्वाद सुरु गरेको छ ।

जप्रपाका वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवको संयोजकत्वमा गठन भएको वार्ता टोलीले बिहीबार महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतोले हालै गठन गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालसँग वार्ता गरेको हो ।

अशोक राईको जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय वार्ता टोलीसमेत गठन गरिसकेको छ । सो वार्ता टोलीसँग जप्रपाका वार्ता टोलीले सम्वाद गरेको हो । जप्रपाका वार्ता टोली सदस्य ईश्वरदयाल मिश्रका अनुसार जसपा सहकार्य प्रस्तावप्रति सकारात्मक रहेको छ ।

यसैगरी, जप्रपाको वार्ता टोलीले राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोसहितका नेताहरुसँग वार्ता गरेको छ । राजेन्द्र महतोको पार्टी पनि सहकार्यका लागि सहमति जनाइएको मिश्रले बताए । त्यस्तै, बिहीबार नै लोसपाका अध्यक्ष महन्थ ठाकुरसँगपनि वार्ता भएको हो । 

सबै दलका नेताहरु सहकार्यका लागि सहमत रहेको बताइएको छ । संविधान, संघीयता र लोकतन्त्रको रक्षाका लागि सबै मधेशी दलहरु एक ठाउँमा आउनै पर्ने सबै साझा धारणा रहेको मिश्रले जानकारी दिए ।

देशको वर्तमान परिस्थिति निरन्तर जटिलता तर्फ उन्मुख भएको भन्दै बिग्रिदो अर्थतन्त्र झन् गिर्दो तथा आशावाद खस्किँदो अवस्थामा रहेको वार्तामा सहभागी नेताहरुको भनाई छ ।  


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ