- असार ०७, २०८०
काठमाडौं, २ असोज । ‘विज्ञान तथा प्रविधि : विकास र उत्पादन वृद्धि’ भन्ने नाराका साथ सरकारले बुधबार १२ औं राष्ट्रिय विज्ञान दिवस मनाउँदै छ । यस अवसरमा विभिन्न कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने छन् ।
यस अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रर्वतक भएको बताएका छन् । ‘समयक्रममा हामीले आफ्नो ढङ्गले यसलाई विकास गरेर जान सकेनौं । बाँकी संसारले ज्ञानको उज्यालोसँग साक्षात्कार गर्न नपाएको युगमा पनि विज्ञानका युगान्तकारी सिद्धान्त हाम्रो शिक्षा, शिक्षा प्रणाली र मौलिक परम्परामा समेटिएका थिए ।’ शुभकामना सन्देशमा ओलीले भनेका छन् ‘खगोलशास्त्र, भूगोलशास्त्र, औषधि विज्ञान, जीव विज्ञानको क्षेत्रमा हेर्दा हामी उहिल्यै अगाडि थियौं ।’
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्क्षा पूरा गर्न विज्ञान तथा प्रविधिको भूमिका अपरिहार्य भएको उनले बताएका छन् । यसका लागि सरकार विज्ञान र प्रविधिलाई मेरुदण्डका रुपमा अंगीकार गर्दै आर्थिक विकास एवं सामाजिक रुपान्तरणको प्रक्रियालाई तीव्र बनाउन अग्रसर भएको उनको भनाई छ । ‘सरकारले प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानेको छ, विज्ञान र प्रविधिको शिक्षालाई प्रगतिको वाहकका रुपमा अंगीकार गर्ने नीति लिएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा विद्यमान संरचनाहरको सशक्तीकरण र सबलीकरण पनि उत्तिकै आवश्यक रहेको छ ।’ ओलीले शुभकामना सन्देशमा भनेका छन् ।
सरकारले अनुसन्धान तथा उद्यमशीलता प्रवद्र्धन गर्न आविष्कार कोष, स्टार्टअप फण्ड जस्ता वैज्ञानिक, अनुसन्धानकर्मी र देशमै उद्यम गर्न खोजिरहेका युवाहरु केन्द्रित कार्यक्रमहरुको लागि सरकारले बजेट विनियोजन गरेको उनको भनाई छ । ‘देशलाई आवश्यक वैज्ञानिक खोज, अनुसन्धानमा उच्च शिक्षाका जनशक्तिहरुको उचित प्रयोग गरी तथ्य आधारित नीति, कार्यक्रमहरु निर्माणमार्फत् ज्ञानमा आधारित दिगो अर्थतन्त्रको निर्माणमा हामी केन्द्रित हुन आवश्यक छ ।’ शुभकामना सन्देशमा उल्लेख छ ।
टिप्पणीहरू: