- असार ०६, २०८०
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भ्रष्टाचार र अनियमिततासम्बन्धी ठूला प्रकृतिका २५ भन्दा बढी फाइल सरकारले अगाडि बढाइसकेको बताएका छन्।
सञ्चारिका समूह नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘लैंगिक हिंसा र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री खरेलले यस्ताे बताएका हुन्।
उनले जेनजी आन्दोलनको भावना अनुरुप सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि तीब्रताका साथ काम गरिरहेको उल्लेख गरे। साथै सञ्चारमन्त्री खरेलले सरकारले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने बताए।
सरकारका प्रवक्ता समेत रहेका उनले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिए। मन्त्री खरेलले डिजिटल हिंसाबाट जोगिन पत्रकार महिलाहरुको दोहोरो जिम्मेवारी रहेको बताए।
मन्त्री खरेलले भने, ‘म पत्रकार महिला साथीहरुलाई आग्रह गर्न चाहन्छु, तपाईंहरुको दोहोरो जिम्मेवारी छ, ‘पहिला आफू सुरक्षित रहने र यस क्षेत्रलाई सुरक्षित राख्ने’ पनि दायित्व छ। त्यसैले हाम्रा कन्टेन्ट, स्टोरीहरु र एडभोकेसीहरु कम्तिमा डिजिटल हिसाहावाट मुक्त गर्ने किसिमको हुनुपर्यो।’
सञ्चारमन्त्री खरेलले अहिले लैंगिक हिंसाको प्रवृत्ति र शैली परिवर्तन भएकाले त्यसबाट सुरक्षित रहेर डिजिटल हिंसा विरुद्धका अभियान सञ्चालन गर्न जरुरी भएको उल्लेख गरे।
‘तपाईं परिवारमाझ हुनुहुन्छ, आफू सुरक्षित रहेको अनुभूति गर्नुहुन्छ, तर तपाईंको मोबाइलमा आइरहेका सामाजिक सञ्जालका विभिन्न सामग्रीले तपाईंलाई असुरक्षित महशुस गराउनसक्छ। त्यसैले डिजिटल माध्यमबाट हुने हिंसाको बहस सुरु गर्नु अपरिहार्य छ। किनकी प्रविधिले सहजतासँगै त्रास पनि ल्याएको छ, यसको सहि सदुपयोग गरिनुपर्छ।’
मन्त्री खरेलले देश र समाज विस्तारै समतालाई आत्मसाथ गर्दै समानताको बाटोमा अघि बढिरहेको तथा आज हरेक हिसावले महिलाहरु राजनीतिक, निजामती, पत्रकारितामा तथा समाजका विभिन्न पद र प्रतिष्ठाहरुमा आइराख्दा यसले ठूलो अर्थ दिने उल्लेख गरे।
सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटको संयोजको प्रसङ्ग जोड्दै अगाडि थपे, ‘संयोगले त्यो भेटघाटको चाजोपाँजो मिलाउने सन्दर्भमा दुई ऐतिहासिक व्यक्तित्वहरुसँग अन्तरंग कुराकानी भयो। त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारीले भने,‘थाहा छ जगदीशजी तपाईंहरु पुरुष, हामी महिला। तपाईंहरुले एउटा सिन्को भाच्दा, हामीले तीनवटा सिन्का भाच्नुपर्छ, हामी त्यति दुःख गरेर आएका छौँ, त्यसमा नेपाली महिलाहरुले आफ्नो करियरको लागि जीन्दगीमा गरेको संघर्षको प्रतिक हो।’
‘आज जो जति महिला पत्रकारहरुले संघर्ष गरेर यहाँसम्म आउनुभएको छ, तपाईंहरुको संघर्ष नेपाली सञ्चारमाध्यमको लागि अनुपम, अद्धितीय र विशेष छ’, उनले भने।
टिप्पणीहरू: