- असार ०६, २०८०
काठमाडौँ । सरकारले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ लागू गरेको छ ।
वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले अनिवार्य बिजक लिने संस्कृतिको विकास, कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यविधि कार्यान्वयनमा ल्याएको हो ।
अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले दिएको अधिकार प्रयोग गर्दै उक्त कार्यविधि तत्काल लागू गरेको हो ।
सरकारले उक्त कार्यक्रममार्फत उपभोक्तालाई खरिद गर्दा अनिवार्य बिल लिन उत्प्रेरित गर्ने, विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने तथा कर छली न्यूनीकरण गर्दै पारदर्शी कारोबार प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएको छ ।
एकपटकमा रु एक सयभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन पाउनेछन् । प्रत्येक खरिदको बिजक वा विद्युतीय भुक्तानीबाट गरिएको योग्य कारोबारका आधारमा प्रणालीबाट एक थान उपहार टिकट उपलब्ध गराइनेछ ।
प्रणालीमा प्रविष्ट गरिएको प्रत्येक बिजक एकपटकका लागि मात्र कार्यक्रममा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । हरेक महिनाको पहिलो दिनदेखि मसान्तसम्म विद्युतीय भुक्तानीबाट भएका खरिद प्रणालीमा प्रविष्ट गरिएका बिजक सोही महिनाको उपहार कार्यक्रममा समावेश हुनेछन् ।
भुक्तानी सेवा प्रदायकमार्फत गरिएको विद्युतीय भुक्तानीबाट भएका योग्य खरिद भने स्वतः कार्यक्रममा समावेश हुन पाउनेछन् । नगद वा अन्य माध्यमबाट खरिद गरेका उपभोक्ताले कार्यक्रममा सहभागी हुन चाहेमा बिजक जारी भएको निर्धारित अवधिभित्र विभागको प्रणालीमा बिजक नम्बर, स्थायी लेखा नम्बर, बिजक जारी मिति, कुल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम तथा मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ ।
सरकारी निकाय वा सार्वजनिक संस्थाका नाममा जारी भएका बिजक, टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी तथा ढुवानीका साधन, हवाई टिकट खरिदसम्बन्धी बिजक तथा स्थायी लेखा नम्बर (प्यान) नलिएका व्यक्तिबाट खरिद गरिएका बिजक कार्यक्रममा समावेश हुन पाउने छैनन् ।
विजेता छनोटका लागि हरेक महिनाको १ गते र १६ गते स्वचालित प्रणालीमार्फत ‘ड्र’ गरिन्छ । पहिलो चरणमा अघिल्लो महिनाको १६ गतेदेखि मसान्तसम्मका कारोबार र दोस्रो चरणमा सोही महिनाको १ गतेदेखि १५ गतेसम्मका कारोबारका आधारमा सहभागीमध्येबाट विजेता चयन हुनेछन् ।
प्रत्येक दिन एक जना विजेता तथा हरेक १५ दिनमा एक जना बम्पर विजेता छनोट गरिन्छ । दैनिक विजेताले रु एक लाख ३३ हजार ३३४ बराबर उपहार प्राप्त गर्नेछन् भने पाक्षिक बम्पर विजेताले रु १० लाख प्राप्त गर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।
उपहार रकम वितरण गर्दा आयकर ऐन, २०५८ अनुसार आकस्मिक लाभमा लाग्ने २५ प्रतिशत कर कट्टी गरिनेछ । उपहारप्राप्त विजेताले पुरस्कार घोषणा भएको मितिले १५ दिनभित्र आवश्यक कागजाजसहित सम्बन्धित निकायमा आफू वा वारेसमार्फत निवेदन दिनुपर्नेछ ।
पेस गरिएका कागजात झुट्टा, नक्कली वा कीर्ते प्रमाणित भएमा सम्बन्धित व्यक्तिविरुद्ध प्रचलित कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइने व्यवस्था कार्यविधिमा छ । तोकिएको सीमाभित्रमा उपहार दाबी गर्न नआएमा त्यस्तो उपहार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने व्यवस्था छ ।
टिप्पणीहरू: