- भदौ ०२, २०८१
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह पराजित भएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुन पनि सक्छन्। झापा-२ बाट फेरि पनि पूर्वसभामुख देवराज घिमिरेले विजयी भएको प्रमाणपत्र नपाउलान् भन्न सकिन्न।
रौतहटका गाउँ गाउँ पुगेर फोटो सेशन गरिरहेका ऋषि धमला जनप्रतिनिधि भएर संसदमा ‘जनता जान्न चाहन्छन्’ शैलीमा प्रस्तुत भए भने कुनै आश्चर्य हुने छैन।
महेश बस्नेत, शेखर कोइराला, राजेन्द्र लिङ्देन वा अन्य पार्टीका सासंद भएरै दुई/चार थान भोटो फटाएकाहरु फेरि सांसदका रुपमा निर्वाचित भए भने अन्यथा लिन मिल्दैन। लोकतान्त्रिक मुलुकमा निर्वाचनको नियम हो जसले धेरै मत पाउँछ, उही निर्वाचित हुन्छ। निर्वाचित हुनका लागि सफेद चरित्र हुनु जरुरी छैन।
बालुवाटार जग्गा कारोबारमा जोडिएका विष्णु पौडेल, नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका बालकृष्ण खाँण, सुन काण्डमा जोडिएका कृष्णबहादुर महरा, इट्टाभट्टा प्रकरणमा जोडिएका मोहम्मद अफताव आलमलगायतका पात्रहरुलाई नेपाली जनताले पटक पटक निर्वाचित गराइसकेका छन्। लोकतन्त्र व्यवस्था मध्येकै उत्कृष्ट भए पनि राम्रा मान्छेले मात्रै चुनाव जित्छन् भन्ने ग्यारेन्टी छैन। नेपाल मात्रै हाेइन । अन्य मुलुकमा पनि यस्ताे दुर्घटना हुन्छ बेला बेलामा ।
यसपाली हुने निर्वाचनमा पनि पुरानै गल्ती र प्रवृत्ति नदोहोरिएला भन्न सकिँदैन। राम्रा मान्छेले जित्ने, खराब मान्छेले हार्ने कुनै सिद्दान्त छैन। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायतले चुनावी घोषणापत्र शीर्षकमा जे जस्ता बुँदाहरु राखेका छन्, ती बुँदा पढ्दा भने लाग्छ- यसपाली पुराना पार्टीका शीर्ष नेतृत्वले इतिहासमा पहिलो पटक नयाँहरुबाट चर्को दबाब महसुस गरिरहेका छन्।
पहिलो पटक सबै पार्टीका शीर्ष नेतृत्व जनताका बीचमा वास्तवमै गम्भीर भावमा प्रस्तुत भएका छन्। स्पष्ट भाषामा भन्ने हो पहिलो पटक जनतासँग यति धेरै डराएका छन्। यदि त्यस्तो नहुँदो हो त, एमालेले घोषणापत्रमा युवालाई प्रतिमहिना १० जिवी डाटा सित्तैमा दिन्छु भनेर लेख्ने थिएन।
तत्कालीत सत्ताधारी दल एमालेले अहिलेसम्म भदौ २३ र २४ मा भएको जेनजी विद्रोहलाई विद्रोहको रुपमा स्विकारेको छैन। उक्त विद्रोहलाई ‘आतंकवाद’ को रुपमा व्याख्या गरेको एमालेको चुनावी घोषणापत्र भने जेनजी आन्दोलनको म्याण्डेड अनुरुप छ। यसको अर्थ जेनजी पुस्तालाई आतंककारी भन्ने एमाले नेतृत्वका लागि त्यही शब्द सबैभन्दा भारी बनेर आएको छ। तैपनि युवा पुस्तालाई प्रभाव पार्न सकिन्छ कि भनेर हो घोषणापत्रमा ‘प्रतिमहिना १० जिवी डाटा सित्तैमा’ लेखेको। कुनै पनि पार्टीले मुलुकलाई समृद्ध बनाउने हो भने युवाले प्रतिमहिना १० जिवी डाटा सित्तैमा दिने होइन, १० जिवी डाटा किन्न सक्ने हैसियत निर्माण गर्ने वातावरण बनाइदिने हो। त्यस विषयमा पार्टीहरु अझै गम्भीर भएका छैनन्।
बंगलादेशको चुनावी परिणामलाई लिएर कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका एकथरी कार्यकर्ता दुई दिन जति उत्साहित भए। उनीहरु उत्साहित हुनुको कारण थियो- अचेत मनस्थिति।
पुराना तीन पार्टीका एकथरी कार्यकर्ता यति धेरै अचेत छन्, तिनलाई भुइँ तहका सर्वसाधारणको मनस्थिति के छ? थाहै हुँदैन। प्राय आफ्नै पार्टीका नेताका वरिपरि घेरामा सीमित हुन चाहनेहरु भुइँ तहका विषयमा चासो राख्दैनन्। यदि कुनै माध्यमबाट भुइँ तहका समस्या सुनिहाले पनि आफूभन्दा माथिल्लो तहमा पुर्याउन चाहँदैनन्। किनकी माथिल्लो घेरामा बस्नेहरुमा आलोचना सुन्न सक्ने शक्ति छैन।
जेनजीहरुले बढी विश्वास गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आक्रामक चुनावी प्रचारप्रसार सुरु गरेपछि अत्तालिएका कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्तालाई बंगलादेशको निर्वाचन परिणामले केही दिनका लागि भए पनि उर्जा दियो। उर्जा यस अर्थमा कि जेनजीका पार्टी चार सिटमा सीमित हुनुलाई महत्वपूर्ण उपलब्धिका रुपमा व्याख्या गरे। बंगलादेश नेशनलिष्ट पार्टी (बिएनपी)ले बहुमत हासिल गरिरहँदा जेनजी आन्दोलनबाट विस्थापित तत्कालीन शेख हसिनाको पार्टी आवामी लिग शून्य सिटमा सीमित भएको भेउ नै पाएनन्। मात्रै जेनजीका पार्टी चार सिटमा सीमित भएको भनेर रमाइरहे।
यो चुनावमा तेस्रो कार्यकालका लागि ओलीलाई अध्यक्ष बनाएका एमाले कार्यकर्ता सबैभन्दा बढी तनावमा छन्। ओलीलाई भावी प्रधानमन्त्री दाबी गर्दै निर्वाचमा सहभागी भएका एमाले कार्यकर्ताका लागि अहिले काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन शाह टाउको दुखाइको विषय बनेका छन्। ओलीकै क्षेत्रबाट बालेनले उम्मेदवारी दिएपछि दबाबमा रहेका ओली पहिलो पटक शान्त मुद्रामा मतदाताको घरदैलो अभियानमा सहभागी भए। सर्वसाधारणका गुनासा ध्यानपूर्वक सुनिरहेका देखिन्छन्।
आफ्नै पार्टीका नेता कार्यकर्तासमेतलाई रैतीका दर्जा दिने ओलीलाई झुपडीमा पुर्याएर उनीहरुका कुरा सुन्न बाध्य पार्ने चाहिँ बालेन नै हुन्। विशेष महाधिवेशनमार्फत पूर्वसभापति शेरबहादुर देउवालाई थन्को लगाएको कांग्रेसले पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै निर्वाचनमा सहभागी भए पनि कांग्रेसका आम कार्यकर्ता अझै कांग्रेसको पक्षमा उत्साहित हुन सकिरहेका छैनन्। देउवालाई आदर्श मान्ने कांग्रेस कार्यकर्ताले अझै पनि आत्मैदेखि थापालाई सभापति स्वीकार्न नसक्दा यो थिति उत्पन्न भएको हो।
चुनाव आउन १३ दिन बाँकी छ। नेताहरु घरदैलो अभियानमा केन्द्रित छन्। पुराना पार्टीमै जोडिएका कतिपय युवा पुस्ताका मतदाताले हाकाहाकी भन्न थालेका छन्, ‘फेरि तपाईंलाई भोट किन?’ युवा पुस्तामा देखिएको यो आक्रोशको प्रभाव मध्यमस्तरीय कार्यकर्तामा समेत पर्न थालेको छ। यसैको असर हो, पुराना पार्टीका कतिपय कार्यकर्तामा अझै ‘म मेरो पार्टीको नेतालाई भोट हाल्छु’ भन्ने हिम्मत जुटेको छैन।
यसपालीको चुनावी रापतापबाट यति चाहिँ भन्न सकिन्छ, यसपाली जेनजीको जित र जेनजी विराेधीको हार निश्चित छ। पात्रहरु जोसुकै निर्वाचित हुन सक्छन् तर, उनीहरुले जेनजीको भावनाविपरीत हिँड्ने छुट अब पाउने छैनन्। बालेन शाहले जितुन् वा केपी ओली, अब हिँड्ने भनेको जेनजीकै भावना अनुरुप हो। जेनजीको माग प्रतिमहिना १० जीवी डाटा सित्तैमा होइन, १० जीवी डाटा किन्न सक्ने हैसियत हाे । आशा गरौँ, अब बन्ने सरकार जेनजीको हैसियत पूरा गर्ने अभियानमा नचाहेर पनि हिँड्न बाध्य हुनेछ।
टिप्पणीहरू: