- असार ०६, २०८०
काठमाडौं । माओवादी केन्द्र छाडेका नेता राम कार्कीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन कूशासनको परिणाम भएको बताएका छन् ।
नेता कार्कीले नेताहरूमा अझै पनि ग्लानीभाव नदेखिएको र क्षमासमेत नमागेको भन्दै आक्रोश व्यक्त गरे ।
ललितपुरमा आज आयोजित वाम धुव्रीकरण घोषणाबारेको पत्रकार सम्मेलनमा बाेल्दै नेता कार्कीले बिसौं वर्षदेखि जुन कूशासन चलेकाले जेनजी आन्दाेलमा त्यही कूशासन विस्फोट भएको टिप्पणी गरे । 'त्यो कूशासनका हर्ताकर्ताहरू अहिलेसम्म पनि जनताको अगाडि आएर हामीलाई क्षमा गर्नुस्, हाम्रो कारणले गल्ती भयो, हाम्रो कारणले असन्तोष बढ्यो भनेका छैनन् ।’ उनले भने ।
नेपालमा माओवादी आन्दोलन संसदीय व्यवस्थामा डुबुल्की मारेर सकिएको उनकाे भनाई थियाे ।
माओवादीले गरेको जनयुद्धले समाजका सबै अन्तरविरोधलाई सतहमा ल्याइदिएको बताउँदै नेता कार्कीले त्यो सकारात्मक ऊर्जालाई राजनीतिमा प्रयोग गर्न सकिएको भए मुलुक रुपान्तरित हुनसक्थ्यो भन्दै माओवादी पार्टी संसदीय राजनीतिमा रुमल्लिएर सकिएको निष्कर्ष सुनाए।
माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका ८ दलले एकता गर्ने भएपछि त्यसमा असन्तुष्टि जनाउँदै नेता कार्कीसहित जनार्दन शर्मा, अन्जना विशंखे लगायतका नेताले छुट्टै मोर्चा बनाउने तयारी गरेका छन् ।
वाम ध्रुविकरणको घोषणाका लागि प्रचण्डसँग असन्तुष्ट उनीहरूले आज ललितपुरमा पत्रकार सम्मेलन गरेका हुन् ।
टिप्पणीहरू: