- असार ०६, २०८०
काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई चेतावनी दिँदै पुनः सडक आन्दोलनको घोषणा गरेको छ ।
संगठनका अध्यक्ष विकेश साहले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सरकारलाई ‘असंवैधानिक, दमनकारी र फेक’ भन्दै आउँदो भदौ २३ गते ‘फेक शासन विरुद्ध असल शासन’ नारासहित देशव्यापी प्रदर्शन गर्ने जनाइएको छ ।
जेनजी आन्दोलनको मुख्य उद्देश्य ‘सरकार फेर्ने’ मात्र नभई ‘समग्र सिस्टममा आमूल परिवर्तन’ गर्नू थियो। तर केही ‘छद्मभेषी र स्वार्थी समूह’ले आन्दोलनलाई हाइज्याक गरेर ‘केही पात्र र सरकार फेर्ने खेल’ मा मात्र सीमित पारेको गम्भिर आरोप अध्यक्ष साहले लगाएका छन् ।
‘आन्दोलनमा रगत बगाउने सहिद र घाइतेहरू सहाराविहीन बनेका छन् । बदलाव चाहने नेपाली जनता निराश भएका छन्,’ कमन जेनजी नेपालका अध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कमन जेनजीले वर्तमान बालेन सरकारको चरित्र नै दमनकारी रहेको आरोप लगाएका छन् । सुकुम्बासीको उठिबास, निर्दोष युवामाथि गोली, संसद र संवैधानिक संस्थाको मानमर्दन, नागरिकका संवैधानिक अधिकार खोस्ने काममा लिप्त रहेको आरोप लगाइएको छ ।
यस्तै ४ महिना बित्दा पनि किसानलाई मल अभाव, मूल्यवृद्धि, कर आतङ्क र ग्यासको लाइन समाधान नगरेको तथा जनताको समस्या छाडेर ‘काण्डै काण्डको शृङ्खला’ रचना गर्नमा सरकार लागेको उनले जनाएका छन् । विगतको शक्तिशाली सरकार कसरी २४ घण्टामै चुर्लुम्म ढलेको बिषय स्मरण गर्दै अहिलेको रास्वपा सरकारले केवल ४८ प्रतिशत मतदाताको समर्थन मात्र पाएको र जनताविरोधी काम नगरी जेनजीको माग सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ ।
कमन जेनजीले आफूहरुको आन्दोलन ‘रहर नभई बाध्यता’ भएको भन्दै सम्पूर्ण बदलाव चाहने युवा, राजनीतिक दल, नागरिक समाज र राष्ट्रवादी शक्तिलाई एकजुट हुन आह्वान समेत गरेको छ । राज्यसत्तामा जबसम्म छद्मभेषीहरू रहन्छ, तबसम्म देशले सही बाटो लिन नसक्ने जनाउँदै उनले छद्मभेषी प्रवृत्तिलाई परास्त गर्न सम्पूर्ण न्यायप्रेमीहरु एकजुट हुन आह्वान समेत उनले गरेका छन् ।
गत भदौमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध भएको जेनजी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि सुशीला कार्कीको अन्तरिम सरकारले २०८२ फागुन २१ मा चुनाव गराएको थियो । चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एकल बहुमत ल्याएर बालेन शाह नेतृत्वमा सरकार गठन गरेको छ । तर शाह नेतृत्वको सरकारले जेनजी आन्दोनलको माग पुरा गर्न असफल भएको आरोप कमन जेनजीले लगाएको छ ।
टिप्पणीहरू: