शुक्रबार, २९ चैत २०८१

गिरीबन्धुबारे प्रधानमन्त्रीविरुद्धकाे मुद्दामा सर्वोच्चले भन्याे- अवहेलनामा किन कारबाही नगर्ने?


काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर भएकाे अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ माग गरेकाे छ।

गिरीबन्धु टी स्टेट्सको जग्गासम्बन्धी फैसला कार्यान्वयन नगरेर अदालतको अवहेलना गरेकाे भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले मुद्दा दायर गरेकाे मुद्दामा सर्वोच्चले सक्कल मिसिल माग्दै कारण देखाउ आदेश जारी गरेको हो।

आइतबार न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले लिखित जवाफ माग्दै सम्बन्धित मुद्दाको फाइल झिकाउन आदेश दिएको हो।

सर्वोच्चले निवेदकको मागबमोजिम अदालतको अवहेलनामा किन कारवाही हुनु नपर्ने हो ? भनी  प्रश्न गर्दै ७ दिनभित्र जवाफ पेश भनेकाे छ।

‘निवेदकका तर्फवाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री ओमप्रकाश अर्याल र श्री चन्द्र प्रसाद भुसालले गर्नुभएको बहस सुनीयो। यसमा के कसो भएको हो? निवेदकको मागबमोजिम अदालतको अवहेलनामा किन कारवाही हुनु नपर्ने हो ? कारवाही हुन नपर्ने कानूनबमोजिमको आधार कारण भए सो आधार कारण सहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक ७ दिन भित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्नु भनी विपक्षीहरुका नाममा यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी म्याद सूचना पठाई लिखित जवाफ प्राप्त भए वा अवधि नाघेपछि यस अदालतको संवैधानिक इजलासबाट मिति २०८०।१०।२४ मा आदेश भएको ०७८-WC-०००४ को उत्प्रेषण मुद्दाको सक्कल मिसिल समेत साथै राखी नियमानुसार गरी पेश गर्नू’,  आदेशमा भनिएकाे छ।

गिरीबन्धु टी स्टेट्ससम्बन्धी मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा उल्टै अवरोध भएको भन्दै अधिवक्ता अर्यालले मुद्दा दायर गरेका थिए। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ