आइतबार, २५ जेठ २०८२

पूर्व मुख्यमन्त्री शाहीको प्रश्न : नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ हरायो ?


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने बताएका छन् । तर, गृहमन्त्री रमेश लेखकले राजीनामा दिने वा नदिने भन्ने कुरा स्वयम लेखकमा निर्भर रहने उनको भनाई छ । 

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने बताएका हुन् । उनले भने,‘हामीले यो प्रकरणमा सत्यतथ्य बाहिर ल्याउनको लागिपनि छानबिन समिति बनाउनुपर्छ भनेका छौं । अहिलेको गृहमन्त्रीको मात्रै नभएर कतिवटा गृहमन्त्री, सचिव र अध्यागमनमा खटिएकाहरु छन्, जो जो दोषी छन्, सबै कारबाहीको दायरामा आउनुपर्छ भन्ने हाम्रो मान्यता हो । मानव तस्करको अपराध गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ ।’

भिजिट भिसाको नाममा अवैध बाटोबाट गएकाहरु घरेलु हिंसामा परेको र ठगिएको उनले सुनाए । उनले भने,‘हाम्रा नेपाली नागरिक कुन देशमा कति मान्छे छन् भन्ने सरकारसँग तथ्यांक छैन् । अवैध बाटोबाट जानेहरु ठूलो पीडामा छन् । उनीहरुको पासपोर्ट खोसिएको छ । नेपाल फर्किएर आउने अवस्था छैन । नेपाली नागरिकलाई रेस्क्यु गर्नुपर्छ ।’ उनले भिजिट भिसा प्रकरण अहिलेमात्रै बाहिर आएको भन्दै यस्तो घट्ना पहिल्यैदेखि नै भएको हुनसक्ने आफूहरुको आशंका रहेको बताए । 

उनले वर्तमान सरकार गलत नियतको साथ बनेको दाबी गरे । उनले भने,‘यो सरकार सही नियतका साथ होईन गलत नियतको साथ बनेको हो आफ्नो अपराधको ढाकछोपको लागि बनेको हो । फाईलहरु भटाभट खोल्नुपर्दैन ? हिजो खोलिएका फाईलहरु तामेली गरिएको छ । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ हरायो ? गिरिबन्धु टि–स्टेट प्रकरणमा जग्गा व्यक्तिलाई र निजीलाई किन दिईयो ? नियत के थियो ? भनेर हामीले सोधेका हौं ।’

उनले अहिले मुलुकको अर्थतन्त्र ओरालो लाग्दो अवस्थामा रहेको चित्रण गरे । विदेश पलायनको लागि एयरपोर्टमा दिनहुँ ठूलो लाईन लागेको भन्दै देशको अवस्था खराब रहेको उनको भनाई छ । उनले भने,‘यो सरकारले कति प्रतिशत रोजगारी सिर्जना गर्यो ? यति जनालाई रोजगारी दियौं भनेर डेटा पेश गर्न सक्छ ? जनताले अहिले के भनेका छन् ? के विषय उठाएका छन् ? शक्तिशाली सरकारले जनताको मुद्दाको समाधान गरेको छ त ? जनताले तिव्र विकास खोजेका छन् । के विकास भयो त ?’

उनले आफूहरुले आरोपको लागि आरोप नलगाएको बरु प्रतिपक्षीय दायित्व पूरा गरिरहेको बताए । उनले तत्काल एमालेसँग सहकार्य गरेर आफ्नो दल सरकारमा जाने वा नयाँ एमाले–माओवादीबीच नयाँ गठबन्धन नहुने दाबी गरे । उनले भने,‘एमाले र माओवादीबीच तत्काल सहकार्य हुने कुरा शतप्रतिशत गलत हो । माओवादी सरकारमा सहभागी हुँदैन् । हाम्रो पार्टी सरकारमा जाने मनस्थितिमा छैन । हामी त जनतामा नै जाने हो ।’ 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ