- असार ०६, २०८०
सिडनी । अस्ट्रेलियाको दक्षिणपूर्वी फ्लिन्डर्स टापुको १० प्रतिशतभन्दा बढी भूभागमा फैलिएको डढेलोले घरहरू नष्ट गर्नुका साथै वन्यजन्तुलाई विस्थापित गरेको छ । आगलागीका कारण सडक बन्द गर्नुपरेको आपत्कालीन सेवाले बिहीबार जनाएको छ ।
तस्मानियाबाट ५० किलोमिटर उत्तरपूर्वमा रहेको टापुको उत्तरी क्षेत्रमा फैलिएको आगो नियन्त्रण गर्न अग्निनियन्त्रकहरू प्रयासरत छन् । बासिन्दाहरू १० मिटर अग्लो आगोबाट जोगिन सुरक्षित स्थानमा आश्रय लिइरहेको तस्मानिया अग्नि सेवाका क्षेत्रीय प्रमुख स्टिभ रिचर्डसनले बताएका छन् ।
प्रतिकूल मौसमका कारण हालैका दिनमा आगोको नजिक पुग्न निकै जोखिमपूर्ण बनेको उनले बताए । मौसममा सुधार आएपछि अग्निनियन्त्रकहरूले नियन्त्रणका लागि रेखा निर्माण गर्ने काम अघि बढाउने उनले जानकारी दिए ।
आगलागीबाट छवटा संरचना क्षतिग्रस्त वा नष्ट भएका छन् भने आगो निभाउन छवटा हेलिकप्टर परिचालन गरिएको छ । “यो टापुको सबैभन्दा ठूलो आगलागी नहुन सक्छ, तर सबैभन्दा महत्त्वपूर्णमध्ये एक हुनेछ”, उनले सञ्चारमाध्यमलाई भने ।
आगलागीबाट वन्यजन्तुहरू पनि विस्थापित भएका छन् । स्थानीय बासिन्दा एलन ह्वेटलीले सडकमा साना पोसमहरू देखिएको बताउँदै यसपटक आगो निकै तीव्र गतिमा फैलिएको उल्लेख गरे।
अर्का स्थानीय बासिन्दा जेमी ब्रोसार्डले आगलागीमा सम्पत्ति गुमाएका मानिसहरूप्रति दुःख व्यक्त गर्दै अवस्था झन् बिग्रँदै गएको बताए ।
अस्ट्रेलिया लामो समयदेखि विनाशकारी डढेलोको जोखिममा रहँदै आएको छ । सन् २०१९ को अन्त्यदेखि सन् २०२० को सुरुसम्म फैलिएको ‘ब्ल्याक समर’ डढेलोले लाखौँ हेक्टर वन क्षेत्र नष्ट गर्नुका साथै हजारौँ घर ध्वस्त पारेको थियो ।
वैज्ञानिकहरूका अनुसार मानवीय गतिविधिका कारण भइरहेको जलवायु परिवर्तनले ‘ब्ल्याक समर’ जस्ता विनाशकारी आगलागी हुने सम्भावना औद्योगिक युगअघिको तुलनामा दोब्बर बनाएको छ ।
टिप्पणीहरू: