- असार ०७, २०८०
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालहरू नेपालमा दर्ता नभएको खण्डमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।
मंगलबार नेपाल टेलिकमको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बाेल्दै अहिले नेपालमा दर्ता भएर सञ्चालनमा आएको सामाजिक सञ्जाल टिकटक मात्रै रहेको र फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपलगायत अन्य सामाजिक सञ्जाललाई पनि दर्ताका लागि सार्वजनिक आह्वान गरिएको बताए।
उनले भने, 'टिकटकलाई हामीले भन्यौँ, तिमीले टुरिजममा हाम्रो देशको काम गर्नुपर्छ। उसले काम गरिरहेको छ। एआईको दुरुपयोग गरेर कति बदमासी गरिरहेको हुन्छ, हामी समात्नै सक्दैनौँ। किनभने उनीहरु हामीसँग आइरहेको छैन। मेटा, फेसबुक, इन्स्टाग्राम केके छ, त्यो प्रयोग गर्दा हामीलाई के सहयोग गर्न सक्छौँ? हामीलाई स्वास्थ्यमा सहयोग गर, हाम्रो इन्डस्ट्रीमा सहयोग गर। गुड गभर्नेन्सलाई काम गर्न सहयोग गर। त्यो नगरिकन उनीहरूलाई चलाउन दिँदैनौँ।'
उनले सामाजिक सञ्जाल अराजक बन्दै गएकोले त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरूकै मागका कारण सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताए।
‘धेरैको माग के छ भने यो सोसल मिडियालाई रेगुलेट गर्दिनुर्यो मन्त्रीज्यु भन्ने छ। यो मनपरी गर्ने, मनपरी भन्ने कुरा लोकतन्त्र होइन होला नि त। त्यसैले हामीले सोसल मिडिया प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक हामीले पेस गरेका छौँ’, मन्त्री गुरुङले भने, ‘विरोध अलिअलि सुरु भएको छ। लोकतन्त्रमा विरोध त भइहाल्छ। छलफल त भइहाल्छ। हामीले सबै चिज, समाचारको फिसिङ गर्ने, मिसिङ गर्ने, समाचारको बुलिङ गर्ने, त्यहाँ केके भन्छन् नि।’
उनले सामाजिक सद्भाव भत्काउने, विद्वेष फैल्याउने, धार्मिक सहिष्णुता भत्काउने कुरा देशद्रोह भएकाले सामाजिक सञ्जालमा त्यस्तो गर्नेलाई दण्ड सजायको प्रावधान राखिएको बताए।
टिप्पणीहरू: