- भदौ ०१, २०८१
स्विजरल्यान्ड। नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस स्की रिसोर्ट सहर क्रान्स मोन्टानामा भीडभाड भएको बारमा आगलागी हुँदा धेरै जनाको मृत्यु र घाइते भएका छन्।
दक्षिणपश्चिमी स्विट्जरल्यान्डको वालिस क्यान्टन प्रहरीले जारी गरेको विज्ञप्तिमा यस घटना ‘गम्भीर’ भएको उल्लेख गरिएको छ।
प्रहरी प्रवक्ता गेटान लाथिओनका अनुसार, बिहान १ः३० बजे (००ः३० जिएमटी) ‘ले कन्स्टेलेसन’ नामक बारमा विस्फोट र आगलागी सुरु भएको थियो। भवनमा नयाँ वर्षको उत्सव मनाउन १०० भन्दा बढी मानिस भेला भएका थिए।
घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक र उद्धारकर्मीहरूको ठूलो टोली तुरुन्तै पुगेको र धेरै पीडितलाई उद्धार गरिएको जनाइएको छ।
क्षेत्रीय दैनिक समाचारपत्रका अनुसार मृत्युको सङ्ख्या लगभग ४० हुनसक्ने अनुमान गरिएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।
स्विस मिडियाले प्रकाशित गरेको तस्बिरमा आगो लागेको भवन र मानिसहरू चिच्याउँदै भागिरहेको दृश्य देखाइएको छ।
प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक रिपोर्ट अनुसार कन्सर्टका क्रममा आतशबाजी प्रयोग गर्दा आगो लागेको हुनसक्ने अनुमान गरिएको छ।
लाथिओनले भने, ‘अपरेसन अझै जारी छ र प्रभावित क्षेत्र जनताका लागि पूर्ण रूपमा बन्द गरिएको छ। क्रान्स मोन्टानामा नो–फ्लाई जोन लागू गरिएको छ।’
घटनास्थलमा एम्बुलेन्सहरूको ठूलो भीड देखिएको थियो र अधिकारीहरूले प्रभावित परिवारको सहयोगका लागि विशेष हेल्पलाइन तथा स्वागत केन्द्र स्थापना गरेका छन्।
टिप्पणीहरू: