- असार ०६, २०८०
काठमाडौँ । नेकपा (एमाले) की नेतृ तथा राष्ट्रिय सभा सांसद रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार जोडिएको अडियो प्रकरणप्रति चासो व्यक्त गरेकी छन् । सुनारको अडियाे सार्वजनिक भएपछि हिंसामा परेकी महिला र उनका नाबालक बच्चाको तत्काल सुरक्षा प्रबन्ध गर्न सरकारसँग माग गरेकी छिन् ।
सामाजिक सञ्जालमा लेख्दै नेतृ झाँक्रीले सार्वजनिक भएको अडियोमा एक महिला सांसद र उनका नाबालक बच्चालाई अश्लील गाली गलौज तथा ज्यान मार्ने धम्की दिइएको विषयले आफू स्तब्ध भएको उल्लेख गरेकी छन् ।
सार्वजनिक अडियो अत्यन्तै बीभत्स र सुन्नै नसकिने खालको रहेको भन्दै उनले लेखेकी छन्, ‘त्यो अडियो त मैले सुन्न पनि सकिनँ । अझ बच्चालाई समेत मार्दिने, रगत खाने कुरा गरेको सुनिन्छ । बच्चालाई बिनाबाउको वेश्याको छोरा भनेको सुन्दा मेरोसमेत रगत तात्यो । उनीहरूको सम्बन्धमा बच्चाको यहाँ के दोष ? हिंसाको पनि हद हुन्छ नि !’
उनले भनेकी छिन् ‘अपराधीमाथि कारबाहीभन्दा पहिले पीडितको सुरक्षाको सवाल आउँछ । नेपाल प्रहरी यसमा गम्भीर बनोस् र तत्काल सुरक्षा प्रबन्ध गरोस्,’ झाँक्रीले भनेकी छन्,’ त्यसपछि सम्बन्धितमाथि तुरुन्त अनुसन्धान गरी कानुनी कारबाही गरियोस् ।’
टिप्पणीहरू: