शनिबार, ०६ वैशाख २०८२

एमाले, कांग्रेस र माओवादीका स्थानीय नेता जुवाखालबाट पक्राउ


काठमाडौं । शंखरापुर नगरपालिका–३ जरसिंह पौवास्थित एक रिसोर्टमा तासजुवा खेल्दै गरेको अवस्थामा सत्तारुढ दल एमाले–कांग्रेस र प्रमुख प्रतिपक्ष माओवादीका स्थानीय नेता पक्राउ परेका छन् ।

आइतबार साँझ प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले पक्राउ गरेका ११ जना मध्ये केही पार्टीका स्थानीय नेता रहेका छन् । 

ज्ञानबहादुर तामाङको हिमालयन भ्यू पोइन्ट रिसोर्टबाट ज्ञानबहादुरसहित ११ जनालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय समाचार कक्षको बुलेटिनमा उल्लेख छ । उनीहरूबाट प्रहरीले ५ लाख ३३ हजार २ सय र ३ बुक तास बरामद गरेको थियो ।

पक्राउ परेकामध्ये रामबहादुर तामाङ स्थानीय निर्वाचन २०७९ मा शंखरापुरको ३ नम्बर वडाको सदस्यको उम्मेद्वार थिए । त्यतिबेला नेकपा एमालेबाट उम्मेदवार बनेका उनले जम्मा ८८ मत पाएका थिए ।


सानबुहादुर घ्लान भने कांग्रेसका स्थानीय नेता हुन् । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट शंखरापुर–१ को वडाध्यक्षको उम्मेदवार बनेका उनले उनी ५२७ मत पाएका थिए । 

त्यसैगरी माओवादी केन्द्रका कार्यकर्ता श्यामबहादुर तामाङ पनि पक्राउ परेका छन् । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ