- असार ०७, २०८०
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एकभन्दा तलको सङ्ख्यामा कुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग पूर्ण उन्मुलन नभएसम्म आफूहरु सन्तुष्ट नहुने बताए ।
उनले पहिला पहिला आशीर्वाद दिइँदा पाचन प्रणाली राम्रो होस् भनेर दिइने स्मरण गर्दै आहार–बिहार र हेरचाहलाई सहीरुपमा गरेर स्वस्थ्य रहन सकिने र कुष्ठारोगजस्ता सङ्क्रामक रोग लागिहालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रुपमै सञ्चालन गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले आफूलाई पञ्चायतकालमा गोलघरमा रहँदा चिसो भुइँमा राखेर यातना दिइएको सम्झँदै त्यही कारण आफ्नो मिर्गाैला फेल भएको सन्दर्भ उल्लेख गरे ।
'जस्तो मेरो किड्नी किन खराब भयोभन्दा लापरबाहीले होइन । डेढ महिना राखेर चुटेको चट्यै गर्ने, खाना पनि नदिएपछि अनि स्वास्थ्य कहाँबाट मेन्टेन हुन्छ ? चिसो गोलघरभित्र भुुइँमा बसेको ठाउँमा तलबाट पानी पलाउँछ, अनि स्वास्थ्य कहाँबाट ठीक हुन्छ । नेल हत्कडी लगाएको छ, घाउ नै घाउ भएको छ, धन्न त्यो फलामको नेलबाट घाउमा ठोकिएर केटनस आदि इत्यादि भएन संयोगको कुरा हो', उनले भने, 'त्यहाँ कहाँबाट स्वास्थ्य राम्रो हुनु ? मलाई क्षयरोग लाग्यो । औषधि छैन, खाना छैन, अल्सर भयो, औषधि छैन, खाना छैन । अनि कहाँबाट स्वास्थ्य राम्रो हुनुु ? पेटभरी घाउँ भएर दुुखेर असैह्य हुन्छ । भतभति पोल्छ, घाउँबाट रगत आउँछ । पेन किलर दिन्छ, त्यो खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ त ! मेरो किड्नी फेल हुनुुको अर्थ पेन किलरले हो । सहनै नसकेर पेन किलर खाएको छ । अहिले नै मरियो भने पछि के गर्ने, पछि उपचार जे सुकै भए पनि के गर्ने ! अहिले बाँची हालौं, पेन किलरको असरपछि हेरौंला भनेर ।'
प्रधानमन्त्री ओलीले कुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए । उनले रोग लुकाउनु हुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठारोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह पनि गरे ।
टिप्पणीहरू: