बिहिबार, २८ चैत २०८१

दुर्गा प्रसाईले अश्लिल शब्द प्रयोग गर्दै भिडलाई उत्तेजित बनाए : गृहमन्त्री


काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले अराजकता फैलाएर संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने एकमात्र उद्देश्यकासाथ राजावादी समुहले तीनकुनेमा हिंसक घटना घटाएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएका घटनाको निष्पक्ष छानबिन हुने बताए ।

प्रदर्शनका क्रममा अगुवा मध्येका एक दुर्गा प्रसाई स्वयंले बा. प्र. ०१–०२८ च. ०२०१ नं. को गाडी हाँकी अश्लिल शब्द प्रयोग गर्दै र भिडलाई उत्तेजित बनाउँदै सुरक्षाकर्मीहरूलाई किच्ने नियतकासाथ सुरक्षा घेरा तथा ब्यारिकेड माथि बलपूर्वक गाडी हाँकेपछी माहौल बिग्रिन पुगेको गृहमन्त्री लेखकले बताए । ‘उक्त घटना लगत्तै भिडले उत्तेजित भई सुरक्षाकर्मीमाथि ढुंगामुढा र सिसाका बोतल लगायतका बस्तु प्रहार गरेका थिए ।’ गृहमन्त्री लेखकले भने ।

आगामी दिनमा संविधान र व्यवस्था विरोधी अराजक गतिविधिलाई कानुनको दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउने र लोकतान्त्रिक अधिकारको निर्वाध उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा सरकार थप क्रियाशील भएको उनको भनाई थियो ।

शान्तिपूर्वक भेला हुन पाउने संविधान प्रदत्त अधिकारको अवमूल्यन हुनेगरी भएको तोडफोड, बिध्वंश तथा आक्रमण कुनै राजनीतिक दर्शन, विचार र आदर्शबाट प्रेरित भएको थियो भनेर अनुमानसम्म गर्न नसकिने उनको भनाई थियो । ‘आफ्ना असहमतिहरू शान्तिपूर्वक राख्ने र जनमतबाट अनुमोदित हुने अधिकार संविधानतः सुनिश्चित हुँदाहुँदै अराजक शैलीमा भएको घटनाको कानुनी र नैतिक दायित्व यसका आयोजक र संलग्नहरूले नै लिनु पर्दछ भन्ने कुरामा सरकार प्रष्ट छ र सोही अनुसार गम्भिरतापूर्वक अनुसन्धान गरी दोषीमाथि कानून बमोजिम कारबाही गरिने कुरामा विश्वस्त रहन आग्रह गर्छु ।’ गृहमन्त्री लेखकले भने ‘आगामी दिनमा यसप्रकार गैरजिम्मेवार, अराजक र उदण्डतापूर्ण गतिविधि हुन नदिन सरकार प्रतिवद्द रहेको व्यहोरा निवेदन गर्दछु ।’

आफ्ना असहमतिहरु शान्तिपूर्वक राख्ने र जनमतबाट अनुमोदित हुने अधिकार सबैलाई संविधानले दिएको । तर अराजक शैलीमा भएको लुटपाट, तोडफोड र आगलागी तथा सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास अक्षम्य र भत्र्सनायोग्य भएको गृहमन्त्री लेखकको भनाई थियो ‘यस्तो कार्यको कानुनी दायित्व यसका रचनाकार तथा आयोजक र संलग्नहरुले लिनु पर्दछ भन्ने कुरामा सरकार प्रष्ट छ ।’ उनले भने ।

लोकतन्त्र मास्न खोज्नेहरुको पहिलो निशानामा संचारजगत रहन्छ भन्ने कुरा संचारगृहमा खोजि खोजि भएको आक्रमण भएबाट समेत पुष्टि हुने बताउँदै उनले सरकार संचारकर्मी र संचारगृहको सुरक्षामा संवेदनशील रहेको र पूर्णसूरक्षाको प्रवन्ध मिलाउने विश्वास व्यक्त गरे ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ