आइतबार, ०२ कात्तिक २०८२

संसद विघटन असंवैधानिक छ, एमालेले उपचार खोज्छ : ओली


भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन असंवैधानिक र गैरकानुनी भएको भन्दै यसको उपचार खोजिने बताएका छन् ।

बिहीबार भक्तपुरमा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको सरकार लोकतान्त्रिक मान्यताविहीन भएको बताए । ‘अहिलेको सरकार संविधानसम्मत छैन,’ उनले भने ‘ यो लोकतान्त्रिक सरकार होइन, लोकतान्त्रिक शक्ति र नेपाली जनताले अलोकतान्त्रिक सपना देख्नेहरूको टाउकामा चिसो पानी खन्याउनेछन् ।’

सरकारले राजनीतिक दलहरूलाई दबाउने हिसाबले चुनाव  गर्ने जोखिम रहेको बताउँदै ओलीले भने ‘राजनीतिक दललाई दमन र बदनाम गरेर, राजनीतिक दलसँग पौठाचोरी गरेर चुनाव सम्भव छैन ?’

ओलीले सरकारको व्यवहारप्रति चिन्ता व्यक्त गर्दै गृह मन्त्रालयको कार्यशैली र अपराधव्यवस्थापनप्रति प्रश्न उठाए  ‘गृह मन्त्रीले विभिन्न व्यक्तिलाई बोलाएर फलाना–फलाना व्यक्तिका विरुद्ध उजुरी ल्याउन भनेका छन्, त्यही अनुसार उनीहरूले उजुरी गरेका छन्, नाटक गरिरहेका छन्– देशको अहित हुने गरी नाटक गरिरहेका छन् ।’

सम्पत्ति छानबिनका सन्दर्भमा ओलीले आफ्नो सम्पत्तिको छानबिन गर्न आग्रह गरे । यदि कसैलाई सम्पत्ति छानबिन चाहिएको हो भने सम्पत्तिको पनि बहु–पटक छानबिन गर्न माग गरे । ‘मेरो सम्पत्ति छानबिन गरियोस् एक पटक होइन, दश पटक ।’

नेकपा एमाले र लोकतान्त्रिक शक्तिहरूबिचको एकता आवश्यक रहेकोमा उनको भनाई थियो । ‘पार्टीमाथि आक्रमण र सङ्कट आइरहेको बेला, सङ्कटको बेलामा विभाजन होइन, एकताको खाँचो पर्दछ,’ उनले भने । 

एमाले संविधान र लोकतन्त्रको पक्षमा सदा उभिने भन्दै कुनै पनि हालतमा हामी संविधान मासिन, संसद् मासिन नदिने दावी गरे ।
कार्यक्रममा बोल्दै ओलीले आफू जति हेपिए पनि, जति अप्ठेरोमा परे पनि देशलाई हेपिन नदिने बताए । ‘म हेपिन तयार छु, तर मेरो देशलाई हेपिन  दिन्न’, उनले भने ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ