- असार ०६, २०८०
भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले नेतृत्वको सरकारले राम्रा काम गरेपनि पार्टी तथा प्रधानमन्त्रीमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताएका छन्।
नेकपा (एमाले) बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले आज भक्तपुरको डोलेश्वरमा आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रचार कार्यशालामा उनले पार्टी र सरकारप्रति गलत सूचना सम्प्रेषण भइरहेको बताए।
महासचिव पोखरेलले भने, ‘अहिले सामाजिक सञ्जालको दुरुपयोग गरी एमालेमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ। सरकारको नेतृत्व माथि आक्रमण भइरहेको छ। नेतामाथि प्रहार भइरहेको छ। यसलाई एमाले प्रचार विभागले चिरेर जानुपर्छ।’
मूलकको समृद्धि र विकासको नेतृत्व गर्न, मुलुकमा सुशासन कायम गर्न सरकारले काम गरिरहेको उल्लेख गरे। एक वर्षभित्र विकासशील राष्ट्रमा प्रवेश गर्ने १० मूलक मध्ये नेपाल पहिलो नम्बरमा रहेको बताए।
उनले मिसन ८४ सफल पार्न एमालेका प्रभावकारी कामलाई आमनागरिकमा लैजाने गरी प्रचार गर्नुपर्नेमा जोड दिए।
टिप्पणीहरू: