- असार ०६, २०८०
काठमाडौं। नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनलाई अलग-अलग आयोजना गर्ने व्यवस्थाको तात्त्विक महत्त्व स्पष्ट पार्दै आसन्न महाधिवेशनलाई नेतृत्व चयनमै केन्द्रित गर्न आग्रह गरेका छन् ।
एकै मञ्चमा नीति र नेतृत्वको निर्णय हुँदा नीतिगत बहस ओझेलमा पर्ने तथा नेतृत्वप्रति ध्यान केन्द्रित हुने हुँदा नीतिमाथि प्रत्यक्ष प्रभाव पार्ने विगतका अनुभवहरूको आधारमा दुवै महाधिवेशनलाई पृथक रूपमा गर्ने व्यवस्था मिलाइएको उनले दावी गरे । विधान महाधिवेशनका बेला नेतृत्वको र नेतृत्व चयनका लागि हुने महाधिवेशनका बेला नीतिको बहस गर्नु सान्दर्भिक नहुने उनले दावी गरे । दुई महाधिवेशनका बिचमा उत्पन्न हुन सक्ने राष्ट्रिय राजनीतिक परिवर्तनका विषयमा आवश्यक नीति संशोधन गर्ने अधिकार महाधिवेशनले केन्द्रीय कमिटीलाई नै प्रदान गरेको उनले बताए। ‘हरेक घटना र परिस्थितिका लागि महाधिवेशन बोलाउन सम्भव हुँदैन, त्यसैले नीति अद्यावधिक गर्ने प्रक्रिया केन्द्रीय कमिटीमार्फत अघि बढ्छ,’ उनले भने ।
सातौँ महाधिवेशनले पारित गरेको ‘राजतन्त्रको पारदर्शिता र प्रजातान्त्रीकरण’ सम्बन्धी निष्कर्ष माघ १९ को घटनापछि असान्दर्भिक र गलत साबित भएको स्मरण गर्दै उनले लोकतान्त्रिक गणतन्त्र स्थापनाको ऐतिहासिक निर्णय महाधिवेशनबाट होइन, केन्द्रीय कमिटीबाट लिनुपरेको परिस्थिति त्यसको उदाहरण भएको उल्लेख गरे ।
उनका अनुसार कार्यशैली, उपलब्धि र कमजोरीको वस्तुनिष्ठ समीक्षा आवश्यक भए पनि आवेग, मनोवैज्ञानिक दूरी र पक्षधरताले बढेको वातावरणमा यस्तो समीक्षा ‘आरोप–प्रत्यारोप’ र ‘ब्लेम गेम’ मा परिणत हुने जोखिम रहन्छ । वर्तमानमा नेतृत्वमाथि गम्भीर चुनौती रहेको र विधानअनुसार स्थापना गरिएको स्वयंसेवक संस्थाबारे समेत भिन्न आवाज उठिरहेको अवस्थालाई उनले उदाहरणका रूपमा प्रस्तुत गर्दै समग्र विषयमा सम्यक विश्लेषण अहिलेको घडीमा व्यवहारिक नदेखिएको बताए । 'आवेग, मनोवैज्ञानिक दूरी र पक्षधरतामा बाँडिएको बेला गरिने समीक्षा वस्तुनिष्ठ हुन सक्दैन, त्यो आरोप- प्रत्यारोप र ‘ब्लेम गेम’ मा रूपान्तरित हुन्छ, नेतृत्वमाथि यति गम्भीर चुनौती खडा भएको बेला विधानको व्यवस्था बमोजिम स्थापना गरिएको स्वयंसेवक संस्थाबारे त कतिपय भिन्न स्वर सुनिन्छन् भने यति बेला समग्र विषयमा सम्यक विश्लेषण सम्भव देखिँदैन', उनले भने।
आगामी महाधिवेशनलाई नेतृत्व चयनमा केन्द्रित गर्दै सहमतिको यथासम्भव प्रयास गर्न सबैलाई आग्रह गरे । सहमति हुन नसकेमा स्वस्थ, मर्यादित र लोकतान्त्रिक अभ्यासमार्फत प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भइरहेको एनपिएलका खेलाडीहरूले देखाएको सकारात्मक ‘स्पोर्टम्यानसिप’को उदाहरण दिँदै ज्ञवालीले पार्टीका नेता तथा प्रतिनिधिहरूले पनि त्यही स्तरको मर्यादा र अनुशासन अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
टिप्पणीहरू: