शनिबार, १६ साउन २०८३

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि


काठमाडौँ । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको हिमपहिरोमा परेका प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जनाकै आरोहीको मृत्यु भएको पुष्टि भएको छ । हिमपहिरोमा परी बेपत्ता भएका उनीहरूमध्ये चारजनाको शव शुक्रबार फेला परेको थियो । बाँकी छ जना भने बेपत्ता नै रहेको बताइएको थियो । 

आज मात्रै सबै आरोहीको मृत्यु भएको आधिकारिक जानकारी ‘निम्स दाइ फाउन्डेसन’ र ‘एलिट एक्सपिडिसन’ले सामाजिक सञ्जालमार्फत गराएको हो । सो घटनामा म्याग्दीको दानामा जन्मिएका पूर्वबेलायती गोर्खा निर्मल पुर्जा ‘निम्स दाइ’सँगै जम्मा छ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने अन्य नेपाली आरोहीमा पुरबहादुर गुरुङ, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन् ।

  त्यसैगरी, विदेशी आरोहीहरू सोहेल शाखी (पाकिस्तान), वाङ झोङ (चीन), नादिरा अहमद (ओमान), म्यालोरी गेइस (अमेरिका) छन् । 

 सन् २०१९ मा निर्मल पुर्जाले संसारका आठ हजार मिटर अग्ला १४ वटा हिमाल छ महिना छ दिनभित्र आरोहण गरी विश्व कीर्तिमानी कायम गरेसँगै चर्चामा आएका थिए । उनका हिमाल आरोहणसम्बन्धी अन्य कीर्तिमान रहेका छन् । हिमपहिराले उनीहरूलाई छ हजार मिटरभन्दा माथिबाट करिब ८०० मिटर तलसम्म बगाएको थियो । खराब मौसमका कारण सो घटनामा तत्काल उद्धार गर्न कठिनाइ भएको थियो । पुर्जाका व्यावसायिक सहकर्मीसमेत रहेका प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु (डेभिड) शेर्पा शुक्रबार नै पाकिस्तानतर्फ प्रस्थान गरेका थिए । 

मृत्यु भएका नेपाली आरोहीरूमा पुरबहादुर गुरुङ गोरखाका हुन् भने किलीपेम्बा शेर्पा दोलखा, ग्यालु शेर्पा ओखलढुङ्गा, नवाङ थिन्डु शेर्पा र निमा शेर्पा सङ्खुवासभाका हुन् । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ