सोमबार, ०९ चैत २०८२

घ्यु र अचारको कमिशनले बाँचेका भन्सारका ‘हाकिम’


काठमाडौँ। सेवाग्राहीसँग घुस लिएको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भन्सार कार्यालयअन्तर्गतकाे वैदेशिक हुलाक भन्सार कार्यालय डिल्लीबजारका अधिकृत इन्द्र न्यौपाने पक्राउ परेका छन्।

सेवाग्राहीले गरेको गुनासोको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले न्यौपानेसहित अन्य दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

डेढ महिनाअघि सरुवा भएर पुगेका न्यौपाने घुस खाने मामलामा माहिर मानिन्छन्। उनकै निर्देशनअनुसार जुनियर कर्मचारीले सेवाग्राहीसँग घुस माग्ने र उनलाई बुझाउने गरेका थिए।

सोमबारको घटनामा बेलायतमा रहेका आफन्तलाई घ्यु पठाउन लागेका एक सेवाग्राहीसँग न्यौपानेले जुनियर कर्मचारीमार्फत घुस लिएका थिए।

वैदेशिक हुलाक कार्यालयमार्फत विदेशमा रहेका आफन्तहरुलाई घ्यु, अचार, सुकुटीलगायत विदेशमा नपाइने परिकार पठाउँछन् र त्यस्ता सामग्री पठाउने क्रममा न्यौपानेले घुस लिने गरेका थिए। ‘यो सामान पोखिन सक्छ। यसले अरु सामानलाई असर गर्न सक्छ’, सेवाग्राहीसँग यस्तै यस्तै तर्क गर्थे।

न्यौपानेको निर्देशनअनुसार काम गर्ने दुई जना कर्मचारी गणेशप्रसाद पुडासैनी र नायव सुब्बा छविप्रसाद रिजाल पनि पक्राउ परेका छन्। जो न्यौपानेको निर्देशनअनुसार सेवाग्राहीसँग घुस लिने काम गर्थे। अख्तियारले तीन जना कर्मचारीलाई नियन्त्रणमा लिनुका साथै २३ थान मोबाइल नियन्त्रणमा लिएको छ।

बद्नाम अड्डा

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय आफैँमा बद्नाम अड्डाको रुपमा परिचित छ। सिद्धान्त त ती कार्यालयमा काम गर्ने कर्मचारीले सेवाग्राहीलाई सेवा दिनुपर्ने भए पनि सेवाभन्दा सास्ती धेरै दिने गरेका छन्।

विमानस्थलबाटै हुने अर्को बद्मासीमा पूर्वगृहमन्त्री रमेश लेखकसमेत जोडिएका थिए। नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वगृहमन्त्री लेखकले पनि भिजिट भिसा प्रकरणमा दैनिक लाखौँ रुपैयाँ असुल उपर गरेको गुनासो थियो।

भिजिट भिसा प्रकरणमा जोडिएकै कारण गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि अटेर गर्दै बसेका लेखकले भदौ २३ गते भएको जेनजी आन्दोलनपछि राजीनामा दिएका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ