- असार ०७, २०८०
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन दिनेहरूमध्ये एक जनाको नाम अहिले चर्चामा छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्व सचिव अर्जुनप्रसाद पोखरेलले सेवानिवृत्त भइसकेपछि पनि शक्तिको मोह त्याग्न नसकेका चर्चामा आएका हुन् ।
पोखरेलले आफू सचिव हुँदा सेवानिवृत्त भएपछि जानका लागि कार्यविधि आफु अनुकूल परिमार्जन गरेको र अहिले अध्यक्ष पदको उम्मेवारका रुपमा खडा भएको आरोप छ । उक्त कार्यविधिमा सुरुमा ‘फस्ट क्लास’ दर्जाका कर्मचारीले समेत आवेदन दिन सक्ने प्रावधान राखिएको थियो, तर पछि परिमार्जन गरी ‘विशिष्ट श्रेणी’ उल्लेख गरेर प्रतिस्पर्धालाई सीमित पारेको आरोप छ । संसदीय समितिले निजामति कर्मचारी विधेयक (कुलिङ पिरियड) संसदमा पठाइसकेको अवस्था पोखरेलले देखाएको महत्वकांक्षाले कुलिङ पिरियड तत्कालै लागु गर्नु पर्ने आभास हुन्छ ।
सिफारिस समितिले अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि जेठ ११ गते दरखास्त आह्वान गरेको थियो । जेठ २५ सम्म अध्यक्ष पदका लागि ६ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरुमा अर्जुनप्रसाद पोखरेल – पूर्व सचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, परितोष पौड्याल – राष्ट्रिय सहकारी महासंघका सञ्चालक, हरि नेपाल – नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक, नारायणप्रसाद पौडेल – राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक, खगराज शर्मा – सहकारी विकास बोर्डका पूर्व सदस्य सचिव र अनिलराज पौडेल छन् ।
यसैगरी विज्ञ सदस्य पदमा ५ जनाले आवेदन दिएका छन् । तीमध्ये खगराज शर्मा र नारायणप्रसाद पौडेलले अध्यक्ष पदसँगै विज्ञ सदस्यमा पनि आवेदन दिएका छन् । अन्य उम्मेदवारहरूमा शहदेव बस्नेत, रमेशप्रसाद चौलागाई र रुपा जोशी रहेका छन् ।
अध्यक्ष पदको लागि अर्थशास्त्र, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि लिएको र नेपाल सरकारको राजपत्राङ्गित विशिष्ट श्रेणी वा सो सरह पदमा काम गरेको अनुभव वा अन्तर्राष्ट्रिय वा राष्ट्रिय सहकारी÷बैंक÷वित्तीय संस्थामा कम्तीमा १५ वर्षको अनुभव योग्यता तोकिएको छ । विज्ञ सदस्यको हकमा भने अनुभव अवधि १० वर्ष को मापदण्ड राखिएको छ ।
तर सबैभन्दा आलोचित पक्ष यही हो । कार्यविधिको निर्माण र संशोधनमा नै व्यक्तिगत हित लुकाइएको आरोप । कार्यविधि बनाउन संलग्न व्यक्ति प्रतिस्पर्धामा उभिनु नै लज्जास्पद विषय भएको भनेर टिका टिप्पणी सुरु भइरहेको छ । आफै प्रश्न बनाउने आफै जाँच दिने जस्तो भयो । ‘सचिवका रूपमा रहँदा पोखरेलले यो मापदण्ड आफू अनुकूल बनाएर आज फेरि सोही ढोका हुँदै पुनः प्रवेशको प्रयास गरिरहेको छर्लङ्ग देखिन्छ ।’ प्राधिकरणका एक जनाले भने ।
चार महिना अगाडि ललितपुरको पुल्चोकमा प्राधिकरणको कार्यालय स्थापना भए पनि अझै सञ्चालन समिति पूर्ण हुन सकेको छैन । पाँच सदस्यीय समिति बनाउने प्रावधान अनुसार हालसम्म केवल ३ सदस्य छन् । अध्यक्षको जिम्मेवारी हाल कार्यवाहक रूपमा सचिव केदारनाथ शर्मा सँग छ । सदस्यमा नेपाल राष्ट्र बैंकका गुरुप्रसाद पौडेल र सहसचिव मदन कोइराला छन्सहकारी विज्ञ र चार्टर्ड एकाउन्टेन्ट सदस्य भने अझै नियुक्त हुन बाँकी छ ।
सहकारी क्षेत्रमा नियमनको नाममा बनाइएको यो निकाय फेरि सेवानिवृत्त कर्मचारीहरूको पुनःस्थापना स्थल बन्ने हो कि भन्ने आशंका बलियो बनिरहेको छ । पोखरेलजस्ता पात्रको पुनः प्रवेश प्रयासले यस निकायले सहकारीको समस्या समाधान गर्न होइन, ब्यूरोक्रेसीको शक्ति विस्तार गर्न बनेको आशंका जन्माएको छ । अब प्रश्न उठ्छ : नेपालको नियामक प्रणालीलाई सुधारतर्फ लैजाने कि पूर्व कर्मचारीहरूको ‘सेक्युरिटी प्यान्सन’को थलो बनाउने ? उनी सेवानिवृत्त हुनु अघि नापी विभागको कर्मचारी सरुवाको विषयमा पनि विवादमा तानिएका व्यक्ति हुन् ।
टिप्पणीहरू: