सोमबार, ११ साउन २०८३

कांग्रेसले भन्याे-गृहमन्त्रीले राजीनामा दिनु पर्छ


काठमाडाैं ।  प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगन्ज नगरपालिका–३, कप्तानगन्जमा भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। उनले शान्ति–सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी भएको भन्दै गृहमन्त्रीले घटनाबारे जवाफ दिनुपर्ने बताएका छन्।

 सामाजिक सञ्जालमार्फत धारणा राख्दै नेता  आङ्देम्बेले दुई जनाको मृत्यु र दर्जनौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।

आङ्देम्बेले शान्ति–सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी भएको बताएका छन् ।

 ‘यो घटनाको जवाफ गृहमन्त्रीले दिनुपर्छ । शान्ति, सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी हो र यो घटनाको जिम्मेवार सरकारले लिनुपर्छ।’ उनले भनेका छन् ।

आङ्देम्बेले पछिल्लो समय सरकारप्रति नागरिकमा असन्तोष बढ्दै गएको पनि उल्लेख गरेका छन्।

उनले भने, ‘पछिल्लो समय सरकारप्रति नागरिकहरूमा तीब्र असन्तोष पैदा भएको छ। परिणामतः आत्मदाह गर्ने जस्ता भयावह घटना बारम्बार दोहोरिएको छ।’

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ