- असार ०६, २०८०
कैलाली । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन् ।
लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित रहेका कारण देउवाको पद रिक्तसम्बन्धी प्रदेशसभा सचिवालयले तयार गरेको टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरेसँगै उनी पदमुक्त भएका हुन् ।
देउवा गत जेनजी आन्दोलनलगत्तै व्यक्तिगत कामका लागि अमेरिका गएका थिए। त्यसपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै उनी उपचारका लागि अमेरिकामै बसेका छन्। अमेरिका गएको ११ महिना पुगिसक्दा पनि उनी नेपाल फर्किएका छैनन्।
छैटौँ अधिवेशनका क्रममा लगातार पाँच बैठकमा अनुपस्थित भएपछि देउवाले चैत २३ गते प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै आफू स्वास्थ्य परीक्षण तथा उपचारका क्रममा अमेरिकामा रहेको जानकारी गराएका थिए।
प्रदेश सभा सदस्यको स्थान रिक्त हुनेसम्बन्धी व्यवस्थाकाे धारा १८० को (घ) अनुसार सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था उल्लेख गरिएको छ। यही व्यवस्थाअनुसार देउवाको पद रिक्त भएको हो।
टिप्पणीहरू: