- असार ०६, २०८०
काठमाडाैँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यालय विस्तार गर्न थप १९ आना जग्गा किन्ने निर्णय गरेकाे छ।
ललितपुरस्थित सानेपामा रहेकाे केन्द्रीय कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउन कार्यालय अगाडि रहेको १९ आना जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरेकाे पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
‘नेपाली कांग्रेस, केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय अगाडीपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको छ’, पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ।
पौडेलका अनुसार ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी यही असार ११ गते सम्झौता भएकाे हाे।
महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ।
निर्धारित १३ करोड रुपैयाँ पार्टीको विभिन्न तहको लेवि एवं शुभेच्छुकहरूको सहयोगमार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिने पार्टीका मुख्य सचिव पौडेलले बताए।
टिप्पणीहरू: