आइतबार, ०६ वैशाख २०८३

सञ्चारमन्त्री भन्छन्-मन्त्रीलाई माेबाइल दिने हल्ला भ्रमपूर्ण


नुवाकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएका सूचना हल्ला हुन वा आधिकारिक हुन भनेर चिन्न आवश्यक रहेको बताएका छन् ।

पछिल्लो समय सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने तयारी गरिरहेको भनी फैलिएको विषय पूर्ण रूपमा भ्रामक र कपोलकल्पित रहेको उनले दावी गरे ।

नुवाकाेटको लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा स्थानीयसँगको भेटघाटका क्रममा मन्त्री डा तिमिल्सिनाले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिएको उक्त सूचना सत्य नभएको जनाउँदै यस्ता भ्रमपूर्ण सामग्रीले सरकारप्रति अनावश्यक अविश्वास सिर्जना गर्ने प्रयास भएको उल्लेख गरे । उनले यस्तो सूचना गलत नियतका साथ फैलाइएको हुनसक्ने आशंकासमेत व्यक्त गरे ।

मन्त्री डा तिमिल्सिनाले नागरिकलाई कुनै पनि सूचना साझा गर्नु अघि त्यसको सत्यता र स्रोतको विश्वसनीयता जाँच गर्न आग्रह गरे । “पुष्टि नभएका सूचना विश्वास गर्नु र फैलाउनुपूर्व त्यसको आधिकारिकता खोज्नु हामी हरेक सचेत नागरिकको जिम्मेवारी पनि हो ।” उनले भने ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले वर्तमान सरकार नागरिकको करबाट सङ्कलित स्रोतसाधनको सदुपयोग गर्न प्रतिबद्ध रहेको दावी गर्दै जनताको पैसाको कहीँकतै दुरुपयोग भएको देखिएमा नागरिकले खबरदारी गर्नुपर्ने बताए । “हामीले सत्यमा आधारित प्रश्न गर्न छोड्न हुँदैन । यसले सरकारलाई पनि थप जिम्मेवार बनाउँछ । तर फैलिएका सबै सूचना सही हुन वा होइनन् भनेर चनाखो हुनुपर्छ”, उनले भने ।

सरकारको प्राथमिकता नागरिकको जीवनस्तर सुधार र देशको समग्र विकासमा केन्द्रित रहेको उनको भनाइ थियो । उनले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार शून्य सहनशीलताको नीतिमा अघि बढिरहेको र कुनै पनि प्रकारको अनियमितता वा पदको दुरुपयोग सहन नहुने दावी गरे । प्रश्न उठ्ने बित्तिकै सरकारले छानबिन र आवश्यक कारबाही अघि बढाउने नीति अवलम्बन गरिएको उनले बताए।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ