बुधबार, १३ फागुन २०८२

साझा ‘एजेन्डा’, फरक दृष्टिकोण : काठमाडौँ–९ मा विकास र सुशासनको प्रतिस्पर्धा


काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन, २०८२ नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नं ९ राजनीतिक रूपमा चासोको केन्द्र बनेको छ । 

राजधानीको पुरानो बस्ती, ऐतिहासिक नेवार समुदायको बाक्लो उपस्थिति, मध्यम वर्गीय मतदाता, नयाँ सहरी मतदाताको बढ्दो प्रभाव र वैकल्पिक राजनीतिक धारको खोजीले यो क्षेत्रलाई सधैँजसो प्रतिस्पर्धात्मक बनाउँदै आएको छ । यही पृष्ठभूमिमा आगामी निर्वाचनका लागि यहाँ विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । 

काठमाडौँ क्षेत्र नं ९ मा ३४ वटा मतदानस्थल र ९० वटा मतदान केन्द्र रहेका छन् । राजनीतिक दलका १८ र स्वतन्त्र छ जना गरी कूल उम्मेदवार सङ्ख्या २४ जना छ । यसमध्ये २० पुरुष र चार महिला उम्मेदवार छन् । उम्मेदवारहरुको समावेशी प्रतिनिधित्व हेर्दा ४१ दशमलव ६७ प्रतिशत खस आर्य, ५४ दशमलव १७ प्रतिशत आदिवासी जनजाति र चार दशमलव १७ प्रतिशत दलित उम्मेवार रहेका छन् ।

यो निर्वाचन क्षेत्रमा कूल मतदाता सङ्ख्या ७८ हजार ४९५ रहेकामा पुरुष मतदाता ४८ दशमलव ६९ प्रतिशतअर्थात् ३८ हजार २१७ र महिला मतदाता सङ्ख्या ५१ दशमलव ३१ प्रतिशतअर्थात्् ४० हजार २७८ रहेको छ । यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका वडा नम्बर १२, १४, २१, २२, चन्द्रागिरि नगरपालिका १, १२, १३, १४, १५ र नागार्जुन नगरपालिका ६, ७, ८, ९, १० पर्दछन् । सबैजसो उम्मेदवारले सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शी सेवा प्रवाह र व्यवस्थित विकासलाई साझा एजेन्डा बनाएका छन् । ट्राफिक व्यवस्थापन, ढल–फोहर सुधार, हरित क्षेत्र संरक्षण, पर्यटन प्रवद्र्धन, युवालाई रोजगारी सिर्जना, प्राविधिक शिक्षा र सहज स्वास्थ्य सेवामा समान प्रतिबद्धता देखिन्छ । धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै क्षेत्रलाई नमूना बनाउने लक्ष्य पनि सबैको साझा छ । 

नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं ९ की उम्मेदवार नानुमैया बास्तोलाले विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको उत्साहले आफूलाई थप ऊर्जा दिएको र आफूलाई परीक्षण गर्ने ऐतिहासिक समय आएको बताए । “नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि नयाँ नेतृत्वको उत्साह छ । युवा पुस्ता र महिलाको प्रतिनिधित्व बढेको छ । म यही क्षेत्रकी स्थायी बासिन्दा हुँ, यहाँका जनभावना बुझेको छु, जनताका आवाज सुनेको छु, अब तिनलाई कानुनमार्फत सम्बोधन गर्ने समय आएको छ”, उनले भने । 

काठमाडौँ–९ मा कलङ्की–थानकोट नाका पर्ने क्षेत्र भएकाले ‘कनेक्टिङ हब’का रुपमा यस क्षेत्रको ट्राफिक व्यवस्थापन पहिलो प्राथमिकता रहेको उनको भनाइ छ । सुविधासम्पन्न पार्किङ, वैकल्पिक बाटो निर्माण, तरकारी बजार व्यवस्थापन, नदी वरिपरिका बस्ती र टेकु तथा विष्णुदेवी घाटको संरक्षण–व्यवस्थापनमा काम गर्न आवश्यक रहेको बास्तोलाको भनाइ छ । “कलङ्की–थानकोट नाका देशकै प्रमुख प्रवेशद्वार हो । ट्राफिक व्यवस्थापन, भूमिगत तार विस्तार, व्यवस्थित सडक, ढल र फोहर व्यवस्थापन नगरी यहाँको विकास सम्भव छैन । कानुन बनाउन नै संसद् जाने हो, विकास र समृद्धिका लागि स्पष्ट ब्लु–प्रिन्ट लिएर म चुनावमा उत्रिएकी छु”, उनले भनिन्। 

उनले चन्द्रागिरि–१ लाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, नेवा समुदायको धार्मिक परम्परा, संरचना र रीतिरिवाज संरक्षण गर्ने तथा पुराना बस्ती र मन्दिर जोड्ने ‘हेरिटेज वाक’ सुरु गर्ने योजना सुनाइन् । सहर र गाउँको सङ्गमका रूपमा ‘कन्ट्री–साइड रेजिडेन्सी’, होम–स्टे, हरियाली क्षेत्र, सुरक्षित र व्यवस्थित बस्ती विकासलगायतका नागरिक आकांक्षा आफूले बुझेको पनि उनको भनाइ छ । बास्तोलालाई कांग्रेसले प्रदेश सभा निर्वाचनको उम्मेदवार बनाएको थियो । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा बास्तोला राष्ट्रिय प्रजातन्त्र पार्टीका नुरज बज्राचार्यसँग पराजित भएकी थिइन् ।

त्यस्तै, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई पनि बास्तोलाले मुख्य एजेण्डा बनाएकी छिन् । “जेनजी आन्दोलनपछिको निर्वाचनले जनतामा सुशासनको अपेक्षा बढाएको छ । म पार्टीभित्रै पनि सुशासन आयोग स्थापना हुनुपर्छ भनेर बोल्ने व्यक्ति हुँ । भ्रष्टाचार नियन्त्रण बिना विकास सम्भव छैन”, उहाँले जोड दिँदै भनिन् । शिक्षा, स्वास्थ्य, खानेपानी र जीविकोपार्जनका मुद्दा, युवाका लागि रोजगारी सिर्जना र विदेशिएका युवालाई स्वदेश फर्काउने वातावरण निर्माण, महिला सशक्तिकरणलाई आर्थिक–सामाजिक–लैङ्गिक रूपमा बलियो बनाउने तथा ज्येष्ठ नागरिकका हकहित सुनिश्चित गर्ने प्रतिबद्धता पनि उहाँले मतदातासँग जनाउँदै आउनुभएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डोलप्रसाद अर्याल (डिपी) काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ९ लाई समावेशी, सुशासित र नमूना क्षेत्र बनाउने प्रतिबद्धतासहितका चुनावी एजेन्डा लिएर घरदैलोमा छन् । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, दलित, पिछडिएका र अल्पसङ्ख्यक समुदायको आत्मसम्मान र सामाजिक न्याय सुनिश्चित गर्ने गरी सेवा प्रवाह सुधारलाई पनि उनले प्राथमिकतामा राखेका छन् । अर्यालका अनुसार युवा तथा खेलकुद विकासतर्फ पुरानो नैकाप खेलमैदान स्तरोन्नति, नयाँ खेल संरचना निर्माण, स्टार्टअप र प्रविधिमा युवालाई प्रोत्साहन गर्ने योजनासहित उनले मत मागिरहेका छन् । 

रोजगारी सिर्जनाका लागि व्यावसायिक तालिम केन्द्र स्थापना गरी विदेशबाट फर्किएका युवालाई प्रशिक्षकका रूपमा परिचालन गर्ने, सफल उद्यमीका कथा साझेदारी गर्ने तथा तीन सिफ्टमा काम हुने नीति ल्याउने पनि उनका एजेन्डा छन् । त्यस्तै, पर्यटन विकासअन्तर्गत सेतो गुम्बा, इचंगुनारायण मन्दिर, कालुपाण्डे समाधि, स्विजरल्यान्ड पार्क, इन्द्रदह, बद्रीनारायण धाम र ऐन डाँडा क्षेत्रको संरक्षण–प्रवद्र्धन गर्दै कृषि तथा पर्यापर्यटन विस्तार गर्ने योजना अर्यालले सार्वजनिक गर्नुभएको छ । डाँडा र जङ्गल आसपास होमस्टे तथा आधुनिक होटल प्रवद्र्धन गरी पुरातात्विक सम्पदासँग जोडिएको टुरिस्ट सटल बस र नाइट लाइनर सञ्चालन गर्ने लक्ष्य पनि उनले राखेका छन् । 

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउने, प्रत्येक वडामा नागरिक अगुवासहित खबरदारी टोली गठन गर्ने र मासिक सार्वजनिक सुनुवाइमार्फत एक हप्तादेखि ३० दिनभित्र गुनासो समाधान गर्ने प्रतिबद्धता अर्यालले मतदातासँग जनाइरहेका छन् । त्यस्तै, भौतिक विकासमा न्यायोचित बजेट वितरण, कलङ्की–सतुङ्गल–नागढुङ्गा र सीतापाइला–भीमढुङ्गा हरित करिडोर, मेलम्ची खानेपानी विस्तार, वर्षा पानी सङ्कलन, ट्राफिक व्यवस्थापन, ढल तथा फोहोरमैला व्यवस्थापनमा सुधार गर्ने पनि प्राथमिकतामा राखिएका छन् । टेकु फोहर व्यवस्थापन, बल्खु खोला संरक्षण, धुलो नियन्त्रण र विद्यालयलाई भूकम्पीय जोखिममुक्त बनाउने विषय पनि प्राथमिकतामा छन् । 

वैकल्पिक राजनीति, सुशासन र पुराना दलप्रतिको निराशालाई मतमा बदल्न सक्ने आशा रास्वपाले बोकेको छ । काठमाडौँका सहरी मतदातामाझ रास्वपाको प्रभाव तुलनात्मक रूपमा बलियो मानिँदै आएकाले अर्याललाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट डा अजयक्रान्ति शाक्य उम्मेदवार बनेका छन् । शाक्य लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनी २०७४ सालको निर्वाचनमा प्रदेशसभातर्फ विजयी भएका थिए । एमालेका उम्मेदवार डा शाक्यले आफ्नो उम्मेदवारीलाई माटोप्रतिको अगाध स्नेह, तीन दशक लामो अटुट राजनीतिक निष्ठा र क्षेत्रको समग्र रूपान्तरणप्रतिको दृढ सङ्कल्पका रूपमा हेरिनुपर्ने बताए । उनले राजनीति पद र प्रतिष्ठा प्राप्तिको सिँढी नभई ‘बहुजन हिताय, बहुजन सुखाय, सर्वप्रकारेण जगत हिताय’को दर्शनबाट निर्देशित विशुद्ध जनसेवा र राष्ट्रियताको संवद्र्धन गर्ने लक्ष्य भएको बताए ।

नेपाली कम्युनिष्ट पार्टीले ५४ वर्षीय राधाकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ । हिन्दू राज्य र राजसंस्थाको मुद्दालाई मुख्य एजेन्डा बनाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिलकुमार कार्की उम्मेदवार छन् । वामपन्थी धारको अर्को घटक राष्ट्रिय जनमोर्चाबाट ३४ वर्षीय रोशन दानी उम्मेदवार छन् । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बाट ३० वर्षीय एन्जिसराज प्रसाई उम्मेदवार छन् । युवा उम्मेदवार र सानो दलको प्रतिनिधित्वले वैकल्पिक आवाज उठाए पनि निर्णायक बन्न सक्छन् वा सक्दैनन् भन्ने प्रश्न बाँकी नै छ । नेपाल मजदुर किसान पार्टीले शान्त महर्जनलाई उम्मेदवार बनाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनबाट धर्मराज गुरुङ उम्मेदवार छन् । मितेरी पार्टी नेपालका मदन पोखरेल (३५ वर्ष) मैदानमा छन् भने जनता समाजवादी पार्टी, नेपालबाट ५० वर्षीय रणवीर क्षेत्री सिंह लिएर प्रतिस्पर्धामा छन् । 

यसैबीच, आमजनता पार्टीबाट ईरस श्रेष्ठ ‘मोबाइल’ चिन्हसहित चुनावी दौडमा छन् भने प्रगतिशील लोकतान्त्रिक पार्टीका राजु रोक्का, जय मातृभूमि पार्टीका अनुपमुनि बज्राचार्य र श्रम संस्कृति पार्टीका बलराम श्रेष्ठ प्रतिस्पर्धामा छन् । नेकपा (माओवादी) बाट माइला लामा उम्मेदवार छन् । उज्यालो नेपाल पार्टीका रामेश्वर श्रेष्ठ  चुनावी मैदानमा छन् भने राष्ट्रिय मुक्ति पार्टी नेपालबाट २७ वर्षीय मदन डङ्गोल उम्मेदवार बनेका छन् । डंगोल सबैभन्दा कम उमेरका उम्मेदवार हुन्, जसले युवा प्रतिनिधित्वको सवाल उठाएका छन् । यस निर्वाचनको अर्को महत्वपूर्ण पाटो स्वतन्त्र उम्मेदवारहरूको बाक्लो उपस्थिति हो । ८२ वर्षीया पञ्चकुमारी मानन्धर ‘आँखीझ्याल’ चिह्नसहित सबैभन्दा ज्येष्ठ उम्मेदवारका रूपमा मैदानमा छन् । स्वतन्त्र उम्मेदवार जुद्धबहादुर कार्की, सुमित्रा श्रेष्ठ, हरिप्रसाद घिमिरे, पुन माया महर्जन  र मधुसुदन शर्मा चुनावी प्रतिस्पर्धामा छन् । 

महिला सहभागिता र वैकल्पिक राजनीतिक धारको परीक्षणस्थलका रूपमा देखिएको छ । पुराना दलप्रतिको असन्तोष, नयाँ दलप्रतिको अपेक्षा र स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षणले अन्तिम नतिजा कता मोडिन्छ भन्ने अझै खुल्न सकेको छैन । मतदाताले यसपटक पनि अनुहार, दल वा चुनाव चिन्हभन्दा माथि उठेर नीति, प्रतिबद्धता र विश्वसनीयतालाई कति प्राथमिकता दिन्छन् भन्ने कुराले काठमाडौँ–९ मात्र होइन, समग्र राष्ट्रिय राजनीतिलाई समेत सन्देश दिनेछ ।

यसअघि, काठमाडौँ क्षेत्र नम्बर ९ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मत ल्याएर विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलको १० हजार ९५६ मत रहेको थियो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कल्पना धमलाको छ हजार ४०२, राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र प्रधानको चार हजार ७८५ मत प्राप्त गरेका थिए । साझा पार्टी नेपालका मिलन पाण्डेको दुई हजार ३२७, हाम्रो पार्टी नेपालका ईरस श्रेष्ठको एक हजार ५८६, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनको एक हजार ५५२, जनता समाजवादी पार्टी, नेपालका शर्मिला सुवाल (डङ्गोल) को ७९२, नेपाली कांग्रेस (बीपी) का २४७, राष्ट्रिय जनमुक्ति पार्टीका उजला स्थापितको १२३, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका प्रजुल जोशीको ८१ र मौलिक जरोकिलो पार्टीका अम्बिका थापाको २३ मत आएको थियो । 

त्यस्तै, स्वतन्त्र उम्मेदवार सुनिल रिजालको ८३३, डा ज्ञानबहादुर बस्नेतले ३१४, भाइराजा भण्डारीले १५१, राजेन्द्रप्रसाद पाठकले ९४, उद्धव रोक्काले ८२, लक्ष्मण सिंह खड्काले ६४, रचना श्रेष्ठले ६०, गणेश थापाले ३१, रामकुमार रिजालले ३१ र मधु कार्कीले २२ मत प्राप्त गर्नुभएको थियो ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ