सोमबार, १६ चैत २०८२

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना


फाइल तस्बिर

काठमाडौँ। देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुको आंशिक प्रभावका साथै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको असर देखिएको छ।

लामिछानेले आज सोमबार देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने बताएका छन्।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा तथा मधेस प्रदेशसहित अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

‘आज राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ’, उनले भने, ‘मंगलबार दिउँसो कोशी र मधेस प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ। कोशी प्रदेशलगायत देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।’

मङ्गलबार राति भने हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।

त्यसैगरी बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले मेघगर्जन, चट्याङ, हावाहुरी र असिनाबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ