- मंसिर १०, २०८२
काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा व्यस्त छन्।
उम्मेदवार र कार्यकर्ता आक्रामक रुपमा प्रचारमा खटिएका छन्। उनीहरु मतदातालाई चुनावको मुख्य एजेन्डा, प्रतिबद्धता, चुनावी घोषणापत्रमा उल्लेख गरिएका विषयबारे बुझाइरहेका छन्। तर अधिकांश मतदाता भने कसलाई मत दिने भनेर खुलिसकेका छैनन्। उनीहरु अनुभवी, विकासप्रेमी, राष्ट्रवादी, विश्वासयोग्य र अनुशासित उम्मेदवारलाई मतदान गर्ने प्रतिक्रिया दिँदै आएका छन्।
नेपाली कांग्रेसका नानुमैया बाँस्तोला, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा अजयक्रान्ति शाक्य, नेपाली कम्युनिष्ट पार्टीका (नेकपा) बाट राधाकृष्ण महर्जन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्यालले यस क्षेत्रबाट उम्मेदवारी दिएका छन्। यी चार दलका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका अर्याल पूर्वश्रममन्त्री तथा पार्टीका वरिष्ठ उपसभापति हुन्। पुराना वामपन्थी नेताको पहिचान बनाएका नेकपाका महर्जन व्यावसायिक पृष्ठभूमिका हुन्।
एमालेका शाक्य बागमती प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हुन्। बौद्ध दर्शनमा विद्यावारिधि गरेका शाक्य २०७४ सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ९ (१) बाट विजयी भएका थिए।
नेपाली कांग्रेसकी बाँस्तोला विद्यार्थी राजनीति हुँदै नेपाल महिला सङ्घको केन्द्रीय सदस्य हुँदै पार्टीको केन्द्रीय सदस्य हुन्। उनी विसं २०७९ मा यसै क्षेत्रको (१) बाट प्रदेशसभा सदस्यको उपविजेता हुन्। यी दलका चुनावी घोषणापत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी सुशासन, आर्थिक विकासका विषयलाई जोड दिइएको छ।
यस क्षेत्रमा २६ जनाको उम्मेदवारी परेको छ। राजनीतिक दलका १८ तथा स्वतन्त्र आठ जनाको उम्मेदवारी परेको हो। त्यसमध्ये महिला चार र पुरुष २२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत मेनुका घिमिरेले जानकारी दिइन्। राजनीतिक दलबाट एक महिला तथा स्वतन्त्रबाट तीन महिलाले उम्मेदवारी दिएका छन्।
कांग्रेसकी उम्मेदवार बाँस्तोलाले कृषि उद्यमशीलताको विकास, भूमिहीन सुकुम्वासी समस्या समाधान, जलवायु परिवर्तन न्यूनीकरण, सामुदायिक जङ्गलको संरक्षणलगायत विकासको स्पष्ट खाका तयार पारेको बताउँदै त्यसलाई कार्यान्वयन गर्ने तथा मुलुकलाई आवश्यक कानुन बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
एमालेका उम्मेदवार शाक्यले विगतमा यस क्षेत्रमा वैज्ञानिक तथा व्यवस्थित सहरी विकास, सांस्कृतिक पुनर्जागरण र सम्पदा संरक्षण काम गरेर देखाएकाले आफू मतदाताबीच परीक्षण भइसकेको बताउँदै यसपटक पनि निर्वाचित भएमा युवाहरूलाई प्रविधिसँग जोडेर स्थानीयस्तरमै नवप्रवर्तन र उद्यमशीलताका अवसरहरू सृजना गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेकपाका महर्जनले राजनीति विशुद्ध सामाजिक सेवा भएकाले सामाजिक न्याय, सामाजिक सशक्तीकरण, आर्थिक रुपान्तरण यस क्षेत्रप्रतिको आफ्नो दायित्व भएको बताए। उनले भने, ‘म यही काठमाडौँको माटोमा जन्मिएँ। यहीँको हावापानीमा हुर्किएँ। त्यसैले यसक्षेत्रका समस्या समाधान गर्न प्रतिबद्ध छु।’
रास्वपाका उम्मेदवार अर्यालले आफ्नो पार्टीले अवलम्बन गरेको नीति तथा कार्यक्रम अग्रगामी रहेकाले मतदाताहरूमा निकै ठूलो उत्साह र भरोसा पाएको बताउँदै यस क्षेत्रको समग्र विकास, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य र रोजगारीका अवसरहरू सिर्जना गर्ने उल्लेख गरे।
उनले प्रविधिको विकाससँगै सबै सरकारी कार्यलयमा ‘डिजिटाइजेसन’ प्रणालीमा जोडेर पारदर्शिता र जवाफदेहिता कायम गर्ने विषयलाई केन्द्रमा राखेको बताए।
यस क्षेत्रमा चन्द्रागिरि डाँडा, कालु पाण्डे समाधिस्थल, इन्द्र दहजस्ता स्थानहरु ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण छन्।
टिप्पणीहरू: