सोमबार, १८ फागुन २०८२

उम्मेदवार भोट खोज्दै घर–दैलोमा, भरोसा खोज्दै मतदाता


कमलामाई (सिन्धुली) । यही फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दुई लाख १५ हजार १९ जना मतदाता रहेको सिन्धुलीमा दुई वटा निर्वाचन क्षेत्र छन् । दुई वटा निर्वाचन क्षेत्रमा २८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएको पाइन्छ । सिन्धुली–१ मा एक लाख १० हजार ३९१ जना मतदाताले मतदान गर्नेछन् । जसमा ५७ हजार २०२ जना पुरुष र ५३ हजार १८९ जना महिला मतदाता  छन् । सिन्धुली–२ मा एक लाख चार हजार ६२८ जना मतदाता छन्, जसमा ५४ हजार १२२ पुरुष र ५० हजार ५०६ जना महिला मतदाता छन् ।जिल्लाको ग्रामीण बस्तीदेखि सहरसम्म छरिएर बसेका मतदाताको घरदैलोमा पुग्न यतिबेला उम्मेदवारलाई चटारो छ । जिल्लामा निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी बढेको छ । बिहान घाम झुल्किन नपाउँदै उम्मेदवारसहितको टोली मतदाताको घरदैलोमा पुगिरहेका हुन्छन् । 

राजनीतिक दलका झण्डा, चुनाव चिन्ह, प्रचार गीत, पर्चा–पोष्टर र उम्मेदवारपिच्छेका घोषणापत्र, प्रतिबद्धता–पत्रले गाउँ–सहर रङ्गिएको देखिन्छ । तर, जिल्लाका मतदाताको मन भने अझैसम्म रङ्गिन सकेको छैन । उम्मेदवार हात जोड्दै अनुहारमा मुस्कान र मुखमा समुन्नत, समृद्ध जिल्ला बनाउने प्रतिबद्धता बोकेर मतदाता भेट्न सक्रिय बनेका छन् । मतदातामा भने उत्साह देखिँदैन । अघिल्ला निर्वाचनका तुलनामा मतदाता केही फरक अवस्थामा देखिन्छन् । उम्मेदवारले हात जोडेर मुस्कानसहित आफ्ना प्रतिबद्धता सुनाउँदै मत माग्दा मतदाता आ–आफ्नोे निराशाको कथा सुनाउँछन् । स्वच्छ पिउने पानीको अभावदेखि सडक, स्वास्थ्य, शिक्षा, रोजगारीका समस्यासम्म दर्साउँछन् । बेरोजगारीको पीडाले पिल्सिएका कतिपय युवा मतदाताले त उम्मेदवारसँग आक्रोस पोख्छन् । विशेषगरी पुराना दलका नेता तथा चुनावी अभियानका क्रममा गाउँ पुगेका उम्मेदवारसँग उनीहरुले असन्तुष्टी व्यक्त गरिरहेका छन् । यस पटकको निर्वाचनमा मतदाताले उम्मेदवारलाई मौन समर्थन गरेका छैनन्, प्रश्नकर्ता बनेर जवाफदेही बनाइरहेका छन् ।  

अघिल्ला निर्वाचनमा गरेका प्रतिबद्धता किन पूरा भएनन् ? घोषणापत्रमा लेखिएका विकासका एजेण्डा किन कागजमै सीमित भए ? मतदाताले यतिबेला यस्तै प्रश्नहरु गाउँघरका चौतारादेखि बजारका चिया पसलसम्म बसेर गरिरहेका छन् । “चुनावका बेला घरदैलोमा आएर धेरै आश्वासन दिन्छन् । घोषणापत्र पढ्दा हाम्रो ठाउँ नै नमूना बन्छ जस्तो लाग्छ । मतदान गरेर संसद्मा पठाउँछौँ । हामीलाई फर्केर हेर्दैनन् । चुनावमा मात्रै हाम्रो खोजी गरेर हुन्छ ?” घ्याङलेख गाउँपालिका–१ अमले निवासी मतदाता सविना थापाले गुनासो गरे । 

सिन्धुली निर्वाचन क्षेत्र नं–१ मा प्रतिनिधिसभा सदस्यका लागि १२ जना र सिन्धुली निर्वाचन क्षेत्र नं–२ मा १६ जना उम्मेदवार चुनावी प्रतिपस्र्धामा छन् । मुख्य निर्वाचन अधिकृत कमलराज विष्टकाअनुसार नेपाली कांग्रेसबाट उज्ज्वलप्रसाद बराल, नेकपा (एमाले)बाट प्रदीपकुमार कटुवाल क्षेत्री, नेपाली कम्युनिष्ट पार्टीबाट डेकेन्द्रप्रसाद सुवेदी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनेन्द्र कार्कीको उम्मेदवारी छ ।

यसैगरी, उज्यालो नेपाल पार्टीबाट मोतिलाल तामाङ, नेपाल मजदुर किसान पार्टीबाट राजेन्द्र बखुन्छे, मङ्गोल नेशनल अर्गनाइजेसनबाट सोमबहादुर घलान, श्रम संस्कृति पार्टीबाट निमबहादुर मोक्तान, राष्ट्रिय परिवर्तन पार्टीबाट सन्तोषकुमार सुनुवार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामनारायण अधिकारी, नेकपा माओवादीबाट सुशील हमाल र अमृतबहादुर विकको स्वतन्त्रमा उम्मेदवारी छ । त्यसैगरी, सिन्धुली–२ मा नेपाली कांग्रेसबाट सुशीला थिङ, नेकपा एमालेबाट मनोजजङ्ग थापा, नेपाली कम्युनिष्ट पार्टीबाट लेखनाथ दाहाल (राजन) र राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशिस गजुरेलको उम्मेदवारी छ । मङ्गोल नेशनल अर्गनाईजेसनबाट शन्तवीर लामा, नेपाल मजदुर किसान पार्टीबाट रामेश्वरी कोजु, श्रम संस्कृति पार्टीबाट इन्द्रबहादुर विक मितेरी पार्टी नेपालबाट राजन अछामी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मुकुन्दप्रसाद गजुरेल, नेकपा (माओवादी) बाट बक्रबहादुर राई, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट निर्मलकुमार स्याङतान र स्वतन्त्र माधवप्रसाद न्यौपाने, नरहरि पौडेल उम्मेदवार छन् ।

कांग्रेसले टिकट नदिएपछि खड्गबहादुर वाईबाको बागी उम्मेदवारी छ । एमालेबाट सरोज विकको बागी उम्मेदवारी छ । नेपाली कम्युनिष्ट पार्टीबाट बागी उम्मेदवारमा महेश्वर दाहाल छन् । लेखनाथ दाहाललाई टिकट दिएको भन्दै असन्तुष्ट बनेको जिल्ला तहको नेतृत्वले महेश्वर दाहाललाई बागी उम्मेदवार बनाएको हो । त्यस्तै, सिन्धुलीका इन्चार्ज बुद्धिमान माझी र जिल्ला संयोजक पानीराज बम्जनलाई पार्टी हितविपरीत गतिविधि गरेको ठहर गर्दै जिम्मेवारीबाट हटाएको छ । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी खडा गरी त्यसका पक्षमा खुलेआम मत माग्ने गतिविधि गरेपछि कारबाही गरिएको नेकपाको बागमती प्रदेश कमिटिले जनाएको छ । 

यतिबेला राजनीतिक दलका आधिकारिक, स्वतन्त्र र बागी उम्मेदवार तथा उम्मेदवारका समर्थक आफ्नो पक्षमा मत खोज्दैछन् तर मतदाता भने भरोसा खोजिरहेका छन् । “हामीले अघिल्लो चुनावमा धेरै आशा गरेका थियौँ । रोजगारी सिर्जना हुन्छ, सीपमूलक तालिम आउँछ, सडक स्तन्नोति हुन्छ भनिएको थियो । केही भएन । चुनाव जितेर गएपछि नेता गाउँमा फर्किएर आएनन्,” सुनकोशी–६ भलायोडाँडाकी सदिक्षा दर्लामीले सुनाए । आश्वास दिने होइन, गाउँको विकास गर्ने योजना ल्याएर भरोसा दिलाउने उम्मेदवारलाई मत दिएर सहयोग गर्न पर्नेमा उनको जोड छ । 

सिन्धुली जस्तो कृषिकोप्रचुर सम्भावना भएको जिल्लामा किसानको मुद्दा चुनावी बहस बन्ने गरेको छ । तर व्यवस्था गाउँको उत्पादन बजारसम्म सहजै ढुवानी गर्न राम्रो सडकसमेत छैन । सिन्धुली निर्वाचन क्षेत्र नं–१ अन्तर्गत रहेको गोलञ्जोर गाउँपालिका–४ तिनकन्याका लोकबहादुर आलेमगरले भन्नुभयो, “कृषिजन्य उत्पादन गछौँ तर बजारको सुनिश्चित छैन । हाम्रो ठाउँलाई जुनारको राजधानी मानिन्छ । उत्पादन भएको जुनार कच्ची सडकका कारण बजार पु¥याउनै सास्ती हुन्छ । ढुवानी खर्च महँगो पर्छ ।” 

नेता भोट माग्ने बेला मात्रै मतदाता सम्झिने तर मतदाताका समस्याको सुनुवाइ नहुने हुँदा आम नागरिकमा पछिल्लो समय निर्वाचनप्रतिको उत्साह घट्दै गएको उनको बुझाइ छ । उनले आफूले धेरै वटा चुनावमा भोट हालेको स्मरण गर्दै हालसम्म कसैले पनि मतदाताको आवश्यकता बुझेर काम गर्न नसकेको गुनासो गरे । उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार उज्ज्वलप्रसाद बराल घरदैलो अभियानका क्रममा पुग्दा स्थानीयवासीले आफ्नो क्षेत्रको कच्ची सडकलाई स्तन्नोती गरेर पक्की बनाइदिन माग गरेका थिए । 

निर्वाचनमा युवा र महिलाको मत निर्णायक मानिन्छ । वैदेशिक रोजगारी, बेरोजगारी, उद्यमको अभाव र सहर केन्द्रित विकासले ग्रामीण युवा र महिलामा झनै निराशा बढेको छ । युवाले सरकारी कार्यालयमा झन्झट बिनाको सहज सेवा र रोजगारी माग गरिरहेका छन् भने महिलाले सुरक्षाको सवाल उठाइरहेका छन् । “नेता चुनावताका घरदैलोमा आउनुहुन्छ, तर समस्या पर्दा फोन उठ्दैन । हामीलाई बढ्दो महिलामाथिको हिंसा घटाउने नीति चाहियो,” दुधौली नगरपालिका–३ निपानेकी सरिता कटुवालले भने। 

महिला अधिकारका क्षेत्रमा सक्रिय कटुवालले महिला हिंसा न्यूनीकरणका लागि आर्थिक रुपमा सबल बनाउन पर्नेमा जोड दिइन् । यसका लागि महिलामैत्री नीति तथा कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ छ । पहिलो पटक मतदान गर्न लागेका मतदाताको उत्साह भने कम छैन । “हामी मतदान गर्न उत्साहित छौँ । तर, हामीलाई पढाइपछि के गर्ने भन्ने स्ष्पट योजना, सीपमूलक तालिम, प्रविधिमा पहुँच र आफ्नो ठाउँमै गरिखाने वातावरण दिनुपर्छ,” कमलामाई नगरपालिका–५ मधुटार निवासी २० वर्षीया समीक्षा बुढाथोकीले भनिन्। 

उम्मेदवार आश्वासन र घोषणा पत्रसहित घरदैलोमा पुगेका छन् तर मतदातामा भरोसा र विश्वास पुनःस्थापना मुख्य चुनौती बनेको छ । चुनावमा अब विकासको घोषणा मात्रै होइन, कार्यान्वयनको विश्वसनीयता पनि हो भन्नेमा मतदाता सचेत देखिन्छन् । विगतका अधुरा प्रतिबद्धता र दोहोरिँदै आएका समस्याले मतदातालाई सजग बनाएको छ । यस पटक सामाजिक सञ्जालले पनि चुनावी माहोल प्रभावित गरेको छ । मतदाताले उमेदवारको अघिल्लो गतिविधि र कार्यशैली सजिलै भेटिरहेका छन् । अहिले उनीहरु हरेक उम्मेदवारलाई प्रश्न गर्छन्, जफाव खोज्छन् र निर्णय पनि सोचेर गर्छन् । भन्छन्, “भोट दिनेबेला हामी उम्मेदवारको क्षमता हेरेर निर्णय गछौँ । प्रचारभन्दा काम हेछाँै ।” 

मतदाता भाषणभन्दा व्यवहार, आश्वासनभन्दा उपलब्धि र नाराभन्दा नतिजा हेर्न चाहान्छन् । उम्मेदवार यतिबेला चुनाव केन्द्रित घरदैलो अभियानमा केन्द्रित छन् । मतदाताको हात समाउँदै उम्मेदवारले आर्शिवाद लिएका तस्वीर सामाजिक सञ्चालभरी देख्न सकिन्छ । तर, उनीहरुको अपेक्षा क्षणिक भेटघाटमा मात्रै सीमित छैन । मतदाता देशमा दिगो विकास, सुशासन, शान्ति र दीर्घकालीन समृद्धिको भरोसा खोजिरहेका छन् ।  
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ