- मंसिर १०, २०८२
नेपालगन्ज । यहाँका तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा ठूलो क्षेत्र हो—क्षेत्र नं १ । एक लाख २४ हजार ७२७ मतदाता रहेको छन् । यस क्षेत्रमा १४१ मतदान केन्द्र छन् ।
यस क्षेत्रमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्रसहित १४ जना उम्मेदवार प्रतिस्प्रधामा छन् । हाल यहाँका उम्मेदवार तथा दलहरू मतदाता रिझाउन गाउँगाउँ पुगिरहेका छन् । पहिलो चरणको भेटघाट पूरा गरिसकेका राजनीतिक दलका उम्मेदवार औपचारिक रूपमा घरदैलो अभियानमा व्यस्त देखिन्छन् ।
जिल्लाको कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका यस निर्वाचन क्षेत्रान पर्छन् । उम्मेदवारहरू यी क्षेत्रका घरघरमा पुगेर मतदातालाई रिझाउने कोसिसमा छन् । यसअघि यस क्षेत्रबाट एमालेका सूर्य ढकाल निर्वाचित भएका थिए । यसपटक पनि उनी प्रतिस्पर्धामा छन् ।
विसं २०७९ को चुनावमा २५ हजार २६ मत ल्याएर विजयी भएका ढकालले तीन वर्षमै संसद् विघटन भएकाले आफ्नो पाँचवर्षे कार्ययोजना पूरा गर्न नपाएको भन्दै मत मागिरहेका छन् । “निर्वाचन क्षेत्रका धेरै योजना अलपत्र अवस्थामा छन्, तिनलाई पूरा गर्न पनि म चुनावी मैदानमा आएको छु”, उनले भने ।
ढकालले राप्ती नदीका कतिपय क्षेत्रमा पुल नभएका कारण एम्बुलेन्स र दमकल पनि जान नसक्ने अवस्था रहेकाले बाटोघाटो निर्माण आफ्नो प्राथमिकतामा रहेको बताए ।
यहाँ कांग्रेसबाट जिल्ला सभापति नारायण गौडेल उम्मेदवार छन् । विसं २०७४ मा यस क्षेत्रको प्रदेश ‘ख’ बाट प्रत्याशी बनेर पराजित भएका गौडेल यसपटक प्रतिनिधिसभा सदस्य जित्ने लक्ष्यसहित चुनावी मैदानमा आएको बताउछन् । उनले बाँके राष्ट्रिय निकुञ्जका कारण भोग्नु परेका सास्तीबारे स्थानीयले ध्यानाकर्षण गराएको उल्लेख गर्दै मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि कानुनी संरचनागत सुधार तथा अन्य अत्यावश्यक पूर्वाधार निर्माणमा आफूले भूमिका खेल्ने बताए।
नेकपाबाट नरेन्द्र पाण्डे उम्मेदवार छन् भने प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कृष्णा केसी ‘नमूना’ उम्मेदवार छन् । नमूना यस क्षेत्रको प्रदेश ‘क’ बाट लगातार दुईपटक विजयी भएका थिए । प्रदेश सांसद पदबाट राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्यका लागि प्रत्याशी भएका थिए।
पाण्डेले स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पूर्वाधार, सामाजिक न्याय, युवा तथा खेलकुद र सुशासनलाई प्राथमिकतामा राखेको बताए। प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित, आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन तथा मातृशिशु स्वास्थ्य सेवालगायत मुद्दामा विशेष ध्यान दिने योजना रहेको उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुरेश चौधरी यसअघि २०७९ सालको चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिस्पर्धा थिए । उनी ११ हजार ४६५ मतसहित तेस्रो भएका थिए ।
यस क्षेत्रको विगत हेर्दा २०६४ मा माओवादीका तिलक परियार, २०७० मा एमालेका देवराज भार र २०७४ मा माओवादीका महेश्वर गहतराज निर्वाचित भएका थिए ।
यहाँका प्रमुख समस्याका रूपमा राप्ती नदीको कटान र बाँके राष्ट्रिय निकुञ्जका जनावरबाट हुने क्षति रहेका छन् । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजना पूर्ण नहुनु पनि यहाँको मुख्य मुद्दा मानिन्छ । यससँगै स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार निर्माण पुराना ‘एजेन्डा’ छन् ।
हालका प्रायः सबै उम्मेदवारले यी मुद्दा उठाएका छन् । जनसङ्ख्या र भूगोलका हिसाबले यस निर्वाचन क्षेत्रलाई ठूलो मानिएको छ । राप्तीसोनारी गाउँपालिका–४ की रामरजित थारूले कृषि क्षेत्रमा मलखाद र सिँचाइको अभाव झेल्दै आएको उल्लेख गर्दै खेतमा काम गरिरहेको अवस्थामा खेतमा नै पुगेर उम्मेदवारले भोट मागेको बताए । “यसरी आउने उम्मेदवारलाई मलखाद, सिँचाइ सुविधा, स्वास्थ्य र शिक्षामा सहज पहुँचका लागि ठोस योजना चाहिन्छ भने उम्मेदवारलाई भनिरहेका छौँ”, उनले भने।
राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका केही बस्ती अहिले पनि दुर्गम बस्तीका रूपमा रहेका छन् । यी क्षेत्रमा थारू र मुस्लिम समुदायको बाहुल्यता रहेको छ ।
टिप्पणीहरू: