शुक्रबार, ०२ साउन २०८२

मन्त्रीमण्डल पुनर्गठन हुनु सामान्य प्रक्रिया : सञ्चारमन्त्री


काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीमण्डल पुनर्गठन हुनु सामान्य प्रक्रिया रहेको बताएका छन् ।

सञ्चार मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीलाई शपथ खुवाउने बेलामै एक वर्षको लागि भनेको बताए ।

स्पेन भ्रमणपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने समाचार सञ्चारमाध्यममा आएको थियो नि भन्ने प्रश्नमा मन्त्री गुरुङले मन्त्रीमण्डल गठन, पुनर्गठन गर्नेकुरा ठूलो कुरा नभएको उनकाे भनाई थियाे ।

‘मन्त्रीमण्डल गठन, पुनर्गठन हुने कुरा ठूला कुरा छैन । यो प्रधानमन्त्रीको अधिकारको कुरा हो’ उनले भने ।

सरकारले एक वर्षमा उपलब्धिमुलक काम गरेको र अर्थतन्त्रलाई सही दिशामा ल्याएको दाबी गर्दै उनले भने, ‘अब दौडिने परिस्थिति निर्माण भएको छ ।’

उनले सरकारले चाहेजस्तो अझै नभएको बताए । ‘आयात घट्न थालेको छ । निर्यात बढ्न थालेको छ । विकास निर्माणको काम पनि भइरहेको छ । उत्पादन वृद्धिको हिसाबले पनि धेरै राम्रो भएको छ । लिकबाट बाहिर गएको अर्थतन्त्रलाई लिकमा फर्काएका छौँ । अब कति स्पिडमा जाने भन्ने हो,’ उनले भने ।

मन्त्री गुरुङले बजेटको डुप्लिकेसन र बिना अध्ययन योजना राख्ने काम बन्द भएको दाबी गरे ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ