मङ्गलबार, ०४ कात्तिक २०८२

रावणको तीन वटा प्रतिमा दहन


जलेश्वर (महोत्तरी) । असत्यमाथि सत्यको विजयको प्रतीक शारदीय नवरात्राको क्रममा महोतरीको सदरमुकाम जलेश्वरमा आज विजया दशमीका दिन रावणका तीन वटा पुतला (प्रतिमा) दहन गरिएको छ ।

रामले रावणमाथि आजकै दिन विजय प्राप्त गरेको खुसियालीमा रावणको प्रतिमा बनाएर (दहन गरिने) जलाउने कार्य त्रेतायुगदेखि चल्दै आएको विश्वास छ । यसवर्ष महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नम्बर १ मा अवस्थित वरुण सरोवरको पूर्वी उत्तरी डीलमा विशाल काया भएको रावणका ५१ फिट अग्ला तीन वटा प्रतिमाहरु निर्माण गरिएको दुर्गा पूजा समिति जलेश्वरका अध्यक्ष जीतेन्द्र चौधरीले बताए ।

ती प्रतिमा भारतको मुज्जफरपुरबाट आएका सातजना कलाकारहरुको टोलीले २० दिन लगाएर निर्माण गरेका थिए । प्रतिमा निर्माणमा बाँस, रंगिचंगी पताका तथा विष्फोटक पदार्थ प्रयोग गरिएको दुर्गा पुजा समितिले जनाएको छ । बाँसको तिल्ली, कागज, किरकिरी, कलर, दफ्ती, थर्माकोलको मदतबाट निर्माण गरिएको रावणको पुतलामा ठूलो आवाज हुने बम तथा पुतला दहन गर्नुभन्दा पहिले आतिशबाजीको प्रर्दशन गरिएको थियो । रावणको प्रतिमा बनाउँदा टाउको, शरीर तथा खुट्टागरी तीन भागमा बनाइएको थियो ।

मर्यादा पुरूषोत्तम रामको लीलामा आधारित रामको प्रतिकात्मक बनेका राम भगवानले तीर धनुषबाट तीर रावणको नाभीमा हानेपछि रावणकोे पुतला दहन गरिएको हो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ