शुक्रबार, २९ चैत २०८१

बेपत्ता व्यक्तिको नाममा नक्कली कागजात बनाइ शिक्षक नियुक्ति, ९ जनाविरुद्ध मुद्दा दायर


काठमाडाैँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको कालिगण्डकी गाउँपालिका-१ स्थित देउराली माध्यामिक विद्यालयका तत्कालीन व्यवस्थापन समितिका अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेकाे छ।

शिक्षक नियुक्तिमा अनियमितता गरेको अभियोगमा उनीहरुविरुद्ध अख्तियारले साेमबार विशेष अदालतमा मुद्दा दायर गरेको हाे।

उनीहरुमाथि विद्यालयको माध्यमिक तह (कक्षा ९-१०) को अङ्ग्रेजी, गणित र विज्ञान विषयको शिक्षण सिकाई अनुदान कार्यक्रमअन्तर्गतको रिक्त शिक्षक पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आएको अनुदानको रकम अनियमितता गरेकाे आराेप छ।

देउराली माध्यामिक विद्यालयले ‘प्रचलित ऐन तथा नियमावलीमा उल्लेख भएअनुसारको विधि तथा प्रक्रियाको आधारमा नियुक्ति गर्नुपर्ने’ मा शिक्षक छनौटको कुनै कानूनी प्रक्रिया पूरा नगरी बेपत्ता रहेको भनिएको व्यक्तिको शैक्षिक प्रमाणपत्र दुरुपयोग गरी नियुक्ति दिने कार्य गरेको पाइएकाे आयोगले जनाएकाे छ।

उनकाे नाममा नक्कली कागजात बनाई नियुक्ति पत्र, हाजिरी भएको पत्र, हाजिरी विवरण बनाई हाजिरी प्रमाणित गरी कालिगण्डकी गाउँपालिकामा पेश गरी गैरकानूनी रुपमा विद्यालयमा अनुपस्थित शिक्षकको नाममा पारिश्रमिक रकम निकासा गराई वार्षिक एकमुष्ठ तलब बुझेको झुट्टा फर्जी लिखत तथा भरपाई बनाई लेखापरीक्षणसमेत गरी दुरुपयोग गर्ने बदनियतपूर्ण मनसायले कार्य गरी लाभ लिएको देखिएकाे अख्तियारले उल्लेख गरेकाे छ।

उनीहरूविरुद्ध जनही ८ लाख ८७ हजार ८८० रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना सजायको मागदाबी गरिएको छ।

यस्ताे छ अख्तियारकाे आरोपपत्र


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ