मङ्गलबार, ०४ कात्तिक २०८२

विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि


काठमाडौँ। हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको अन्त्येष्टि गरिएको छ।

मंगलबार बिहान शवयात्रा पश्चात कञ्चनपुरस्थित महाकाली नदी किनारकाे भुजेला घाटमा विपिनकाे राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हाे।

विपीनको शवलाई सशस्त्र प्रहरी बल नेपालको एक टुकुडीले सलामी अर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए।

शवयात्रामा स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक निकाय र सुरक्षा निकायका पदाधिकारीका साथै सयौँ स्थानीयवासी सहभागी थिए। 

उनको पार्थिव शरीर साेमबार इजरायलबाट काठमाडौँ ल्याइएको थियाे। इजरायलस्थित नेपाली दूतावासको समन्वय र इजरायली सरकारको सहकार्यमा मृतक जोशीको शव नेपाल ल्याइएको हो।

जोशीको शव साेमबार नै विमानबाट धनगढीसम्म र त्यहाँबाट कञ्चनपुरकाे भीमदत्त नगरपालिका–३ स्थित घरमा पु-याइएको थियो।

गत ७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलको दक्षिणी भागमा भएको आक्रमणपछि बन्धक बनाई गाजातर्फ लगिएको थियो। आक्रमणमा परी १० जना निर्दोष नेपाली विद्यार्थीहरूको तत्काल निधन भएको थियो।

बन्धक बनाइएका जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारले विभिन्न तहमा उपलब्ध भएसम्मका सबै प्रकारका प्रयास र पहल गरेको थियो। तथापि, इजरायली सरकारले १४ अक्टोबर २०२५ मा औपचारिक रूपमा जोशीको निधनको जानकारी गराएको थियो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ